फागुन ११, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० दशलमव १५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस क्लियरिङका अनुसार पहिलो दिन बुधवार साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकबाट ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलामा फागुन २५ गते सम्म रहेको छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।