तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कामले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो । कोरोना कहरले विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । २०७७ जेठदेखि निर्माण शुरू भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ ।
‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ,’ उनले भने । सिग्देलका अनुसार हालसम्म दुईओटा पिल्लरको क्याप बनेको र दुईओटा फाउण्डेसन सकिएको छ । ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ,’ उनले भने । २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा जेभी एण्ड युनाइटेड बिल्डर्सले पाएको छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । रासस