ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैँयाभन्दा बढीको विद्युत निर्यात गर्न सकिने बताएकी छिन् । राष्ट्रिय सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले आगामी आर्थिक वर्ष वर्षा याममा बढी हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैँया बराबरको विद्युत निर्यात गर्न सकिने र आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैँयाभन्दा बढीको विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको बताएकी हुन् ।नेपालले हाल वर्षायाममा बढी भएको ३६४ मेगावाट सम्मको विद्युत भारतीय प्रतिस्पर्धि बजारमा दैनिक १० देखि १२ करोड नेपाली रुपैँयामा बिक्री गरिरहेको उनले बताईन् । गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औषत मूल्य ९ रुपैया ७ पैसा प्रति युनिट रहेको छ भने यो बर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैँया ३८ पैसा प्रति युनिट रहेको उनको भ्नैई थियो । विद्युत उत्पादनको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने विद्युत निर्यातका लागि अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनले जानकरी दिईन् । उनले ऊर्जा सुरक्षाको दृष्टिकोणले जलाशययुक्त आयोजनाको निर्माण गर्न आवश्यक रहेको उल्लेख गरिन् । सोको लागि लोडसेन्टरबाट नजिक रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको लागि जग्गाको मुआब्जा वितरण कार्य करिब सम्पन्न भैसकेको र घर–गोठको मुआब्जा वितरण कार्य भइरहेको उनले जनकारी दिईन् । राष्ट्रिय गौरवको यो आयोजना नेपाल आफैँले विकास गर्न कम्पनी खडा गरी आगामी आवमा निर्माण प्रकृया शुरु गरिने उनले बताईन् ।मधेश, बागमती, गण्डकी र लुम्बीनी प्रदेशमा आगामी वर्ष पूर्ण रुपमा विद्युतीकरण गरीनेछ । साथै प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशमा वितरण प्रणाली विस्तारको लागि वहुवर्षीय ठेक्का सम्झौता सम्पन्न गरी आगामी दुई वर्ष भित्र पूर्ण विद्युतीकरण गरीने उनले बताएकी छिन् ।