जेठ २३, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको छ ।
सभा कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यान दिएर भर्चुअल माध्यमबाट कम्पनीको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले थप प्रक्रिया पुरा गरेपछि नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि निवेदन दिनेछ ।
कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।
यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुगनेछ ।