विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलको नामकरण

बागलुङ । सिंगल स्पान प्रविधिमा निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलको नामकरण गरिएको छ । ५६७ मिटर लामो पुलको संरक्षकको रूपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले मंगलवार ‘गण्डकी गोल्डेन ब्रिज’ नामकरण गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ६ महीनाअघि नगरपालिकाले पुलको उद्घाटन गरेर नामकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रू. २५ हजार राशीको पुरस्कार समेत घोषणा गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ (गण्डकी सुनौलो झुला) नामकरण गरेको नगरप्रमुख पौडेलले जानकारी दिए । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि नगरउपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । उक्त समितिले सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट कार्यपालिका बैठकमा उत्कृष्ट १० नाम सिफारिश गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृृत भएको हो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले पेश गरेका हुन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको ‘सिंगल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दर्ता गराउन निवेदन दिइएको छ । पुलमा बत्ती जडान गरिएकाले रातिको समयमा समेत पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटनपश्चात् आन्तरिक पर्यटकको रोजाइँमा पर्ने गरेको छ । यो पुलमा दैनिक हजारभन्दा बढी पर्यटक आउने गरेको नगरपालिकाले बताए ।

सम्बन्धित सामग्री

पुलको नाम राख्नेलाई २५ हजार इनाम

बागलुङ– सिंगल स्पान प्रविधिमा संसारकै लामो भनी दाबी गरिएको पुलको नामकरण गर्नेलाई पुरस्कार दिइने भएको छ । बागलुङ र पर्वत जोड्नेगरी कालिगण्डकी नदिमाथि निर्माण गरिएको पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको हो ।बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे कालिगण्डकी नदिमाथि ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको […]