वाशिङटन डीसी (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले एडिट बटनमा काम गरिरहेको छ । यो बटनले प्रयोगकर्ताहरुले ट्विट पोष्ट गरेपछि त्यसमा हेरफेरको सुविधा दिनेछ ।
यसबारे अन्तरराष्ट्रिय समाचार संस्थाहरुले खबर छापिरहेकै समयमा कम्पनीले ती समाचारको पूष्टि गरेको हो । ट्विटरमा लामो समयदेखि प्रयोगकर्ताहरुले एडिट बटन हुनु पर्ने माग राखदै आएका थिए ।
तर कम्पनीलाई यो बटनलाई कसरी राख्ने भन्ने चिन्ता अनि समस्या थियो । कम्पनीले अब भने केही महीनामा यसको परीक्षण गर्न शुरु गर्ने भएको छ ।
कम्पनीले यो बटनमा गएको वर्ष देखि नै काम गरिरहेको ट्विटरको सञ्चार टोलीले एक ट्विटमा भनेको छ । एडिट फङ्शन आएपछि ट्विटमा आएका कुनै रिप्लाई, रिट्विट वा लाइक नगुमाइकन प्रयोगकर्ताहरुले टाइप गर्दा भएका त्रुटीहरु सच्याउन सक्नेछन् ।
यो फिचरको माग प्रयोगकर्ताहरुले लामो समयदेखि गर्दै आएका थिए । समय सीमा, नियन्त्रण र पारदर्शिता अनि दुरुपयोगलगायत कुराहरु जोडिएको कम्पनीले यो फिचर ल्याउन विशेष सावधानी अपनाइरहेको छ ।
अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले मंगलबार ट्विटरमा एडिट बटन हुनु पर्छ कि पर्दैन भन्नेबारे एउटा सर्वेक्षण गरेका थिए ।
उनले सो सर्वेक्षण ट्विटरको ९ प्रतिशतभन्दा धेरै शेयर किनेपछि आएको थियो । तर मस्कको सर्वेक्षण भन्दा निकै अगाडि देखि यो विकल्पमा काम गरिरहेको कम्पनीले बताएको छ ।