चार करोड लगानीमा सामूहिक भैंसीपालन, दैनिक आठसय लिटर दूध
व्यास नपा–१ हाइस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामुहिक भंैसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदिको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भंैसी पालन गरेका हुन् ।
काठमाडौं । नेपालमा वार्षिक कति दूध उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । हालै सार्वजनिक एक तथ्यांक अनुसार नेपालमा बर्सेनि भैंसीको संख्या घटिरहेको छ भने दूध उत्पादनमा वृद्धि भइरहेको छ । उक्त तथ्यांक अनुसार नेपालमा दूध दिने भैंसीको संख्या १६ लाख ३० हजार ६ सय ४२ छ ।
कृषि तथा पशुपन्छी डायरी २०२३ मा सार्वजनिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १३ लाख ८० हजार ६ सय मेट्रिक टन भैंसीको दूध उत्पादन भएको थियो । सो वर्ष दुधालु भैंसीको संख्या १६ लाख ३५ हजार ४ सय ९२ थियो ।
तर, आव २०७८/०७९ मा दूध दिने भैंसीको संख्या ५ हजारले घटेर १६ लाख ३० हजार ६ सय ४२ पुगेको छ । यस अवधिमा ३८ हजार मेट्रिक टनले दूध उत्पादन बढेर १४ लाख १९ हजार ४ सय १२ मेट्रिक टन भएको देखिन्छ । भैंसीको संख्या घटे पनि दूध उत्पादन वृद्धि हुनुको कारण नश्ल सुधार हुनुलाई मानिएको छ ।
सरकार तथा सहयोग नियोगको सहकार्यमा नेपालमा विभिन्न जातका राँगा ल्याई सेक्स सिमेन किसानसमक्ष पुर्याउने प्रयाससमेत भइरहेको छ ।
विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी)ले पनि यसमा सघाइरहेको छ । ५५ मिलियन ऋण सहयोगमा दूध, मासु र पस्मिना गरी तीन श्रृङ्खलामा अनुदान सहयोगसहित देशका २८ जिल्लामा उपआयोजना सञ्चालन गरिरहेको आयोजनाले कोरिया अमेरिका लगायतका मुलुकबाट नश्ल सुधारका लागि राँगा, साँढे तथा बोका नेपाल ल्याई सिमेन संकलन गरी किसानलाई वितरण गर्न सघारहेको हो ।
त्यस्तै आयोजनाले अत्याधुनिक ल्याब निर्माणका लागि उपकरण खरीद/जडान र पशु अस्पताल निर्माण गरिरहेको छ । आयोजनाले पोखरा र लाहानमा अत्याधुनिक ल्याब सहितको भवन निर्माण गरेको छ भने २८ स्थानीय तहमा पशु अस्पताल निर्माण गरेको छ ।
आयोजनाले सञ्चालन गरेका उपआयोजनामा हाल उन्नत जातका गाई-भैंसीपालन गरिएको छ । आयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा नवलपरासी पूर्वको गैंडाकोटमा उपआयोजना सञ्चालन गरिरहेको मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले आयोजनाको मिडिया अनुगमनमा पुगेका पत्रकारहरूसँग कुरा गर्दै पहिले दैनिक ९ हजार लिटर दूध उत्पादन गर्दै आएको संस्थाले हाल १४ हजार लिटर उत्पादन गर्दै आएको जानकारी दिए ।
यस उपआयोजनामा एनएलएसआईपीले दाना उद्योग स्थापनाका लागि ९७ लाख ३६ हजारभन्दा बढी रकम अनुदान दिएको छ । आफ्नै दाना उद्योगबाट दाना उत्पादन हुँदा किसानलाई कम लागतमा गुणस्तरीय दाना दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।
यस्तै चितवनको रत्ननगर नगरपालिकामा सञ्चालित उपआयोजना न्यू एग्रिकल्चर पशु फार्म सञ्चालन गरिरहेका दिनेश खतिवडाले उन्नत जातकै भैंसी पालिरहेका छन् । उनका अनुसार आयोजनाको ५० प्रतिशत अनुदान सहयोग, २० प्रतिशत स्वलगानी र ३० प्रतिशत वित्तीय लगानीमा आयोजना शुरू भएपछि उत्पादन वृद्धि भएको बताए ।
'आयोजना लागू भएपश्चात मैलै दैनिक झण्डै ६०० लिटर दूध विक्री गरिरहेको छु । यो भनेको ६०० परिवारलाई नै पुग्ने दुध हो । एउटा मात्रै यस्तो आयोजना हुने हो भने एउटा वार्डलाई एउटै फर्मको दूधले पुग्छ । यसले आयातलाई पनि घटाएको छ,' उनले थपे ।
आयोजना काम गर्ने मान्छेका लागि अति नै सहयोगी बनेको उनको बुझाइ छ । 'जुन अवधारणा आयोजनाले अगाडि सारेको छ, यसले काम गर्नेले मात्रै पाउन सक्ने तर अन्यलाई मुस्किलै छ भन्ने मैले महसुस गरेको छु,' उनले भने ।
उनका अनुसार यसमा ३ ओटा निकायको सहलगानी रहने पक्ष राम्रो छ । 'एक मेरै २० प्रतिशत लगानी छ भने म जिम्मेवार हुनै पर्यो, अर्को बैंकले ऋण लागानी गरेको छ, जसको कारण निरन्तरको अनुगमन रहने र आयोजनाले पनि विभिन्न समयमा अनुगमन गर्ने हुँदा यो मोडल राम्रो छ,' उनले भने, 'स्थानीय तह र सरकारका अन्य निकायले पनि यो मोडल अपनाउँदा अनुदान खेर जाँदैन ।'
८ वर्षदेखि व्यवसाय गर्दा साइलेस भण्डार थिएन, गोठ राम्रो थिएन, अफिस थिएन । तर, आयोजनाका कारण व्यवस्थापनमा पनि सहयोग पुगेको उनको बुझाइ छ । 'मैले हेटौंडामा गाई पाल्ने प्रयास गरेको थिएँ । तर, सफल हुन सकिनँ । तर, अहिले आयोजनासँग जोडिएपछि थाहा भयो- आहार व्यवस्थापन गर्न नसक्दा असफल भएको रहेछु,' उनले भने ।
'संरचनामा ठूलो लगानी गर्ने पशु व्यवस्थापन गर्नै नसक्ने आहार व्यवस्थापन गर्नै नसक्ने तथा नाफा घाटाका बारेमा समेत लेखा राख्न नजान्ने कारण असफल भएको रहेछ भन्ने कुरा आयोजनाले सिकायो,' उनले भने ।
हाल उनीसँग १३५ भैंसी छन् । आयोजनाको सहयोगमा १५ गाई र १५ भैंसी किनेको र एउटा सुधारिएको गोठ निर्माण गरेको उनले बताए । आयोजनाको लगानीसहित हाल साढे २ करोड लगानी गरेका छन् उनले । हाल उनले मासिक कम्तीमा २ लाख नाफा गर्ने गरेको बताए । उनलाई आयोजनाले यान्त्रिकीकरणमा समेत सहयोग गरेको छ ।
चितवनकै देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार स्थापनाकालमा मात्रै १५० लिटर दूध संकलन शुरू गरेको संस्थाले हाल दूध संकलनमा मात्रै नभई विविधीकरणतर्फ लागेको छ । आयोजनाको यान्त्रिकीकरणमा सहयोग गर्ने उद्देश्य अनुसार प्रदान गरिएको अनुदान रकमबाट दूध पास्चराइज गर्ने तथा दही-माेही, पनिर, चिजलगायत उत्पादन गरी आफ्नै नाममा ब्राण्डिङ गरी विक्री गरिरहेको छ भने दैनिक १५ सय लिटर दूध संकलन गरिरहेको छ ।
'हामी ढिलो-चाँडो विविधीकरणमा जानै पर्ने थियो । हाम्रो लक्ष्य पनि थियो । तर, सकिरहेका थिएनौं । आयोजनासँग जोडिएपछि प्राविधिक सहयोग पायौं, जसले गर्दा हामी आफ्नै ब्राण्ड देव दूधका नाममा बजारमा गएका छौं । आयोजनाले दिने अनुदान त छँदै छ त्योभन्दा ठूलो कुरा प्रविधि र प्राविधिक ज्ञान हामीमा थिएन, यसमा ठूलो सहयोग मिल्यो,' संस्थाका अध्यक्ष न्यौपानेले पत्रकारहरूसँग भने, 'अफ्ठ्यारा धेरै आए । तर, हाम्रो लक्ष्य स्पष्ट थियो र उद्देश्य पूर्ति गर्न सफल पनि भएका छौं ।'
त्यस्तै चेतनशील दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा-१७ का अध्यक्ष महेश बजगाईंले आयोजनाबाट प्राप्त अनुदानबाट सञ्चालन भएको उपआयोजनाका कारण दूध उत्पादनमा वृद्धि भएको बताए । आयोजनाले दिएको ज्ञानका कारण किसान थप उत्पादनमा जोडिएको तथा विदेशबाट फर्केका युवासमेत यही पेशामा लागेको उनले बताए । 'आयोजनाको मोडेल र व्यवस्थापन अनुसार सञ्चालन भएका फर्मका कारण अन्य किसानले पनि फलो गरेका छन्,' उनले भने, 'त्यति मात्रै होइन, यो हेरेर विदेशिएका युवा पनि आकर्षित भएका छन् ।'
संस्थाकै संकलन केन्द्रमा भेटिएका किसान सीताराम बाँस्तोलाले पहिले पनि पशुपालन गरेको तर सफल हुन नसकेपछि विदेशिएको बताए । तर, फेरि नेपाल फर्केर सोही काम गर्न थालेको उनले बताए । 'पहिले पनि गरेकै हो, सफल भइएन । अहिले भने अनुदान रकमले भन्दा पनि सिकेकै ज्ञानले राम्रो भएको छ,' उनले भने ।
त्यस्तै मकवानपुरको मनकामना दुग्ध उत्पादक संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले यो आयोजनाले उद्यममा जान चाहानेहरूका लागि राखेको प्रस्तावमा छनोट भई संस्थालाई उद्योगको रूपमा विकास गरिएको बताए । दूध संकलन गरी जिल्ला सहकारी संघलाई विक्री गर्दै आएको यस संस्थालाई आयोजनाले विविधीकरणमा जान सहयोग पुगेको उनले बताए ।
आयोजनाले दुग्धजन्य वस्तु प्रशोधन तथा उत्पादनमा सहयोग गरेको छ । उद्योगले हाल दूध, दही, मोही, चिज, घ्यू ,छुर्पी, खुवा उत्पादन गरी मनकामना दूधको नाममा ब्राण्डिङ गरी विक्री गरिरहेको छ । हाल संस्थाले सञ्चालन गरिरहेको उद्योगलाई प्राविधिकको कमी भएकाले त्यससम्बन्धी तालिमको व्यवस्था मिलाइदिन आयोजनासँग अध्यक्षले माग गरेका थिए ।
आयोजनाका कृषि-अर्थविज्ञ सुशील खड्काले यही असारमा आयोजनाको सम्पन्न हुने तर निरन्तर अनुगमन भने भइरहने बताए । आयोजना असारमा सकिँदै छ । मन्त्रालयसँग १ वर्ष अवधि थपको लागि कुरा भएको छ । अब अनुदानका काम नभए पनि सम्भव भएसम्म तालिमको व्यवस्था गरिदिने योजना रहेको उनले बताए ।
अनुगमनका क्रममा उदयपुरमा सञ्चालन भएको भूपू सैनिक कृषि सहकारीले भने लक्ष्य अनुसार उपआयोजना सञ्चालन गर्न नसकेको पाइएपछि अनुगमनमा गएको टोलीले सञ्चालकलाई सचेत गराएको थियो । औजार खरीद, गोठ निर्माण र गाई खरीद गर्ने गरी आयोजनासँग सम्झौता गरेको संस्थाले आयोजनालाई निरन्तरता दिएको भए पनि पशु आहार र स्याहारमा ध्यान नदिएको पाइएपछि टोलीले आवश्यक बन्दोबस्त मिलाई उद्देश्य अनुसार अगाडि बढ्न निर्देशन दिएको थियो ।
सम्झौता अनुसार पूरा रकम पाइएन : किसान
उपआयोजना सञ्चालन गरेका अधिकांश किसानले सम्झौता अनुसार पूरा रकम नपाएको गुनासो गरे । आयोजनासँग १ करोड ४४ लाखमा सम्झौता गरेको तर सबै काम सक्दा पनि पूरा रकम नपाएको खतिवडाले गुनासो गरे । ५० प्रतिशत अनुदान भएकोले आफूले ७२ लाख रुपैयाँ पाउनुपर्नेमा ५४ लाख मात्रै पाएको बताए । 'आयोजनासँग १ करोड ४४ लाखको सम्झौता भएको हो । मैले सबै काम सक्दा पनि पूरा पैसा पाइनँ,' उनले भने ।
कम्जोरी भए कानुनी प्रक्रियाबाट लिनसक्नुहुन्छ : खड्का
यता अनुगमनमा पुगेका आयोजनाका कृषि-अर्थविज्ञ खड्काले सर्त पूरा गरेका आयोजनाले पूरा भुक्तानी पाएको बताए । यदि नपाएको भए सरकारले जनतालाई दिएको रकममा कुनै तलमाथि गर्न नहुने भएकाले कानुनी बाटोबाट जान सकिने उनको सुझाव छ । आयोजनाका सर्त पूरा गरेका उपआयोजनाले पूरा भुक्तानी पाएको तर आयोजनाले नापजाँच गर्दा वा उनीहरूले पेस गरेको बिल अपुग भएको हुन सक्ने उनले बताए । 'सरकारले दिएको रकम हो यसमा कुनै तलमाथि हुँदैन, यदि त्यस्तो भएको भए कानुनी बाटोबाट पनि जान सक्नुहुन्छ, लिन सक्नुहुन्छ,' उनले भने ।
हालसम्म आयोजनाले मूल्याङ्कन गर्दा सर्त नपुगेका आयोजनाबाट १ करोड १४ लाख बढी रकम कटौती भएको समेत उनले जानकारी दिए । हामीले आयोजना शुरू भएको दिनदेखि पहिलो, दोस्रो र तेस्रो चरणको माइलस्टोन भनेर समयसीमा तोकेका छौं । उहाँहरूले पशु खरीद गरेको दिनदेखि मात्रै आहाराको रकम गणना हुने हो, पशु खरीदमा जति ढिलो गर्नुभयो त्यति नै रकम घट्ने गर्छ । पशु नहुँदाको समयमा आहाराको रकम आयोजनाले दिन सक्दैन । त्यसकारण कतिपय आयोजनाको रकम घटेको छ,' खड्काले भने ।
प्रधानमन्त्रीलाई खिसिट्युरी गर्नेले जात बुझेनन्
यो पेशा अपनाउनेले ब्रिड पहिचान गर्न सक्यो भने धेरै राम्रो हुने खतिवडाले बताए । 'मैले निलिरावी जातको भैंसी पालेको छु । सरकारले किसानका लागि उन्नत जातको राँगा ल्याउँदा खिसिट्युरी गरेको देखियो । त्यसको महत्त्व हामी किसानलाई मात्रै थाहा छ,' उनले भने, 'यस्ता ब्रिडले नेपालको दूध उत्पादन बढाएको छ । अहिले कुन जातको पशु कुन माध्यमबाट नेपाल आएको छ भन्ने सबैलाई थाहा नै छ । नेपालको भैसीले धेरै दूध दिंदा १० लिटर दुध दिन्छन्, मैले एउटै भैंसीबाट २४ लिटरसम्म दूध दुहेको छु ।'
ठेकीमा बोकेर घरघर पुग्दा पास्चराइज दूधलाई मर्का
देव नगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष न्यौपानेका अनुसार पास्चराइज गरेको दूधभन्दा ठेकीमा बोकेर घरघर पुर्याइएको दट्धठ सस्तो हुँदा स्थानीय बजारमा प्याकिङ दूध प्रतिस्पर्धा गर्न मुस्किल भएको बताए । अनुगमनमा गएका आयोजनाका कार्यक्रम मूल्याकंन अधिकृत ईश्वरीप्रसाद खतिवडाले पास्चराइज गरेपछि मात्रै दूध स्वस्थ हुने र त्यस्तो दूध मात्रै विक्री हुनुपर्ने भए पनि सरकारले यसमा सचेतना फैलाउन नसकेको बताए । विदेशतिर पास्चराइज नगरिएको दूध खाइँदैन, नेपालमा त्यस्तो छैन, पास्चराइज गर्दा लागत बढ्छ । तर, सस्तो भएकै कारण अस्वस्थ दूधले बजार पाइरहेको छ । यसमा सरकारले सोच्नुपर्ने बेला भएको छ,' उनले भने ।
आर्थिक मन्दीका कारण दूध माग घट्यो
देव नगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष न्यौपानेका अनुसार पछिल्लो समय देशमा देखिएको मन्दीको कारण दूध उपभोग गर्ने उपभोक्ताले दूध उपभोगमा मात्रा घटाएको बताए । दैनिक १ लिटर दूध खरीद गर्ने उपभोक्ताले आधा लिटरमात्रै दूध खरीद गर्ने गरेका छन्,' अनुगमन टोलीसँग उनले भने ।
दूध महँगो भएको कारण खपत घटेको हो की भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, 'पछिल्लो मन्दीको कारण होला, आम उपभोक्ताले दूधको मात्रा घटाएका छन् ।"
जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिब १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् । १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दूध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दूध बजारमा प्रतिलिटर ९० देखि सय रुपैयाँमा बिक्री हुन्छ । तर सोही दूधको मूल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपैयाँ भन्दा माथि दिँदैन । ‘डेरीले हामीलाई दिने मूल्य चित्त बुझ्दो छैन । तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी
गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका मामाभान्जाले कृषि उद्यममा हात हालेका छन ।
८ करोड रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का मामा गजेन्द्र शर्मा बञ्जरा र भान्जा सञ्जय चापागाईंले वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका छन् । दुवैले ८ महिना अघिदेखि फार्म सञ्चालन गरिरहेका छन् । फार्ममा हाल ५० वटा गाई छन् ।
फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालेको छ । आगामी वैशाख महिनादेखि दैनिक १ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीब्रता दिएको चापागाईंले बताए ।
फागुनसम्ममा ५० माउ गाई थप...
स्याङ्जा । फेदीखोला गाउँपालिका–३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा कृषि तथा पशु फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारका सिलसिलामा तीन वर्ष कतारमा बिताएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर दुई वर्षदेखि गाउँमै कृषिमा रमाइरहेका छन् ।
पाँच वटा भैंसीबाट आफ्नो व्यवसाय सुरु गरेका पौडेलले यसबाहेक २५ रोपनी जमिनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । अहिले पौडेलका महालक्ष्मी कृषि तथा पशु फार्ममा सानाठूला गरेर १३ भैंसी छन् । उनले दैनिक ४० लिटर दूध पोखरा लगेर १ सयदेखि १२० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएका छन् ।
टनेलमा गोलभेडा, काउली, बन्दागोभी, भिन्डी, सागलगायत तरकारी लगाउँदै आएका पौडेलले भने, ‘गाउँघरको आफ्नै जमिन सदुपयोग गरेर वार्षिक चार लाखसम्म आम्दानी गर्न पाएकामा खुसी लागेको छ ।’ देशमा रोजगारी अवसर नभएको भनी दिनहुँजसो हजारभन्दा बढी युवा विदेश गइरहेका बेला यहाँका केही युवा भने आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् ।
आफ्नै लगानीमा केही गर्नेभन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने भावना विपरीत यहाँका तन्नेरीहरू आफ्नै पसिनामा आफ्नो भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन् । स्थानीय तहले किसानलाई लक्ष्य गरेर नीति तथा कार्यक्रम ल्याएपछि त्यस्ता युवाको आकर्षण कृषि पेसामा बढेको छ । गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएर आएका युवालाई स्वरोजगार बनाउने योजनानुसार कृषि तथा पशुपालनका लागि अनुदान दिने नीति बनाएको छ । गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिने र २६ तरकारीमा न्यूनतम समर्थन मूल्य निधारण गरेर किसानलाई अनुदान उपलब्ध गराउँदै आएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले भने, ‘पालिकाले अधिकतम युवा तथा कृषकलाई कृषिमा व्यावसायिक रूपमा लाग्न हौसला प्रदान गर्ने योजनाअनुसार उत्पादनका आधारमा अनुदान दिने नीति लिएको छ ।’
पालिकाले गाउँठाउँमा रहेको बाँझो जमिनमा खेती गर्ने किसानलाई पनि अनुदान दिँदै आएको छ । सुवेदीका अनुसार बाँझो भएको आफ्नै जमिनमा खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार र जमिन भाडामा लिएर खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सयका दरले अनुदान दिँदै आएको छ ।
गाउँपालिकाले अनुदान दिन थालेसँगै २ हजार सय रोपनी बाँझो जमीनमा खेती हुन थालेको र १० करोड बराबरको थप खाद्यान्न उत्पादन भएको सुवेदीले बताए ।
उनले भने, ‘बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरिएसँगै खाद्यान्न उत्पादनमा वृद्धि भएको छ, रोजगारी सिर्जनाका साथै खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ ।’ गाउँपालिका कृषि शाखा प्रमुख शिशिर पण्डितले ५२६ किसानले बाँझो जमीनमा खेती गर्न सुरु गरेको र ४० देखि ५० हजारसम्म अनुदान पाएको जानकारी दिए । उनले भने, ‘एक मुरी धानसमेत उत्पादन नगर्ने किसानले अहिले बाँझो जमिनमा खेती गरेर २५/३० मुरीसम्म धान फलाएका छन् । यस अभियानले पालिकाभित्र जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्दै खेतीपातीमा लाग्न किसानलाई उत्साहित बनाएको छ ।’
संयुक्त अरब इमिरेट्समा आठ वर्ष बिताएर नेपाल फर्किएका फेदीखोला–२ का ४६ वर्षीय गंगाधर पौडेल फेरि विदेश जाने योजनामा भएकामा गाउँपालिकाको अनुदान नीति थाहा पाएपछि योजना बदल्दै आफ्नै पाँच रोपनी जमिनमा तरकारी खेती गरेर वार्षिक ३ लाख आम्दानी गर्न सफल भएका छन् ।
उनले आफ्नो खेतबारीमा हरियो तरकारी साग, काउली, बन्दाका साथै गोलभेडा र आलु खेती गर्दै आएका छन् । गाउँपालिकाको सहयोग पाएपछि आफू वैदेशिक रोजगारलाई छाडेर गाउँघरमै तरकारी खेतीमा लागेको पौडेलले बताए ।
उनले भने, ‘अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर वार्षिक ३–४ लाख रुर्पयाँ कमाउन सकिने भएपछि किन जाने विदेश ? मलाई यहीँ खेतीपाती गर्नुमा खुसी लागेको छ ।’ खेती गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने अनि उत्पादन गरेको वस्तुसमेत घरघरमै पुगेर खरिद गर्ने गरेपछि किसानलाई काम गर्न उत्साहित बनाएको पौडेलको भनाइ थियो ।
गाउँपालिकाले प्लास्टिक टनेल, हाते ट्रयाक्टर र थोपा सिँचाइ परियोजनाका लागि सहयोग गर्ने गरेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा गएर कोभिड–१९ का कारण रोजगारी गुमाएका युवालाई प्रतिव्यक्ति २ लाख ५० हजारका दरले सहयोग गरेको छ । यसरी सहयोग पाउने ११ युवा छन् ।
गाउँपालिकाले पालिकाभित्रका कृषकले उत्पादन गरेका वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका तरकारीलगायत वस्तु पालिकाले तिनको घरमै पुगेर हातहातमै पैसा बुझाएर बजार मूल्यअनुसार खरिद गरेर सहकारीमार्फत बिक्री गर्ने गरेको छ । पालिकाका पाँच वटै वडामा संकलन केन्द्रको व्यवस्था छ । किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्नुपर्ने अवस्था आएमा न्यूनतम मूल्यमा अपुग रकम गाउँपालिकाले नै थपेर किसानलाई उपलब्ध गराउँछ । रासस
बागलुङ । व्यावसायिक दुग्ध उत्पादनलाई बढावा दिन गलकोट नगरपालिकाले ‘भैंसी पकेट’ कार्यक्रम सञ्चालन गरेको छ । वडा–८ र ९ लाई समेटेर पकेट क्षेत्र घोषणा गरिएको पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । उक्त कार्यक्रमका लागि चालू आवमा नगरले २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । पकेटअन्तर्गत उन्नत मुर्रा जातका ८० पाडी र ६ वटा राँगो किसानलाई वितरण गरिएको छ । चार ठाउँमा दूध संकलन केन्द्र बनेका छन् ।
हटिया बजारमा बन्ने चिस्यान केन्द्रमार्फत दूध बजारमा पु¥याइने प्रमुख सुवेदीले बताए । आयात प्रतिस्थापन गरी गलकोटबाट दूध बाहिर बेच्ने लक्ष्यसहित भैंसी पकेटको अवधारणा ल्याइएको हो । अहिले पनि गलकोटको बजार क्षेत्रमा पोखराको दूध र पर्वतबाट पनिर भित्रिन्छ । ‘आगामी आवमा बाहिरबाट आउने दूध रोक्ने र दुई वर्षभित्रमा निर्यात गर्न सकिन्छ भन्ने छ’, प्रमुख सुवेदीले भने ।
पकेट कार्यक्रम चलेपछि तत्कालै किसानले उत्पादन गर्दै आएको झन्डै ६०० लिटर दूधलाई दैनिक बजारमा ल्याउन सकिनेछ । दूधको बजारीकरण नहुँदा पकेट क्षेत्रमा दैनिक उत्पादन हुने १ हजार लिटर दूध मोही बनाएर सकिने गरेको छ । अहिले वितरण गरिएका पाडी हुर्किएपछि आउँदो तीन वर्षभित्र दूध उत्पादन २ हजार ५०० लिटरले थप हुने आकलन गरिएको छ ।
कार्यक्रम सञ्चालनका लागि ‘घुम्टे भैंसी पकेट विकास समिति’ क्रियाशील छ । समितिका अध्यक्ष लोकनाथ कँडेलले पकेट कार्यक्रमले भैंसीपालक किसानलाई हौसला मिलेको प्रतिक्रिया दिए । नगरपालिकाले आगामी वर्षमा पनि भैंसी पकेटलाई निरन्तरता दिइने जनाएको छ । गलकोटलाई दूधमा आत्मनिर्भर बनाउँदै किसानको जीवनस्तर उकास्न वडा–३ र ५ मा पनि भैंसी लक्षित कार्यक्रम सञ्चालन भइरहेको प्रमुख सुवेदीले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ती दुवै वडामा यस वर्ष भैंसीपालनका लागि २४ लाख रुपैयाँ लगानी गरेका छन् । राज्यबाट अनुदान र तालिम पाउन थालेपछि किसान उन्नत नश्लका भैंसीपालनतर्फ आकर्षित भएका छन् । व्यक्तिगत लगानीमा फार्म चलाउने उद्यमी पनि बढ्न थालेका छन् । नगरभित्र सात वटा व्यावसायिक भैंसी फार्म छन् । स्थानीय जातका पाडापाडी संरक्षणमा पनि पकेट कार्यक्रममार्फत सहयोग पुर्याइनेछ ।
नगरप्रमुख भरत शर्मा गैरेले कृषि र पशुपालनमा गलकोटलाई आत्मनिर्भर बनाइने जानकारी दिए । व्यावसायिक रूपमा लाग्ने किसानलाई लक्षित गरेर ब्याज अनुदान, उपकरण, सीप हस्तान्तरणलगायतका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । छनोटमा परेका किसानले तोकिएको वित्तीय संस्थाबाट ९.७ प्रतिशत ब्याजमा ऋण लिन पाएका छन् । सोमध्ये ३ प्रतिशत ब्याज किसानले र बाँकी ब्याज रकम नगरपालिकाले बेहोर्नेछन् । ब्याज अनुदान कार्यक्रममार्फत नगरका ९७ किसानले २ करोड ९७ लाख ऋण लगेका छन् । रासस
भदौ १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दुधजन्य परिकार विक्री गर्न विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
सोमवार कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त संस्थाले दूध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको हो । सहकारीले भरतपुर २२, धनौजीमा रहेको केन्द्रीय कार्यालयमा विक्रि केन्द्र सञ्चालनमा ल्याइ सेवा शुरु गरेको हो ।
विक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मूल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्यआफैले तोकेर विक्री गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गरे ।
उनले दूधको बजारीकरण र यान्त्रिकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै यहाँको रकम बाहिर जानबाट जोगिने बताए ।
गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रीगर्दा किसानको लागतपनि उठ्न गाह्रो भएको भन्दै किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रुपमा सहकारीलाई विकास गरिने बताए ।
उक्त सहकारीले आफ्नै नमूना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।
गत वर्षदेखि परीक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले तीन महीनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्री केन्द्र भएपनि यो सहितसहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक विक्री गर्ने लक्ष्य राखेको छ ।
विक्री केन्द्रबाट पहिलो चरणमा दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिम लगायतका विभिन्न मिठाइका उत्पादन गरी विक्री शुरु गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उनका अनुसार सहकारीले क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने छ ।
प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधबाट तत्कालै परिकार बन्ने हुँदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दाबी गरे । सहकारीले करीब २ करोड रुपैयाँको लगानीमा उद्योगसहित सहकारीकै भवनमा विक्री केन्द्र स्थापना गरेको हो । २०४९ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले ५०० भन्दा बढी किसान आबद्ध छन् ।
वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ ।प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो ।
प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ ।
सो प्लान्टबाट वाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।
बाँकेमा नौ करोडको लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा स्थानीय सरोज पाण्डेसहित विभिन्न व्यवसायीले सामूहिक लगानी गरेर एसके दूध डेरी इन्डस्ट्रिज प्रालि सञ्चालन गरेका हुन् ।
साढे पाँच कठ्ठा जग्गामा ९ करोड लगानीमा स्थापना गरिएको डेरी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गर्ने योजना बनाएको छ । बर्दियाको मैनापोखरस्थित भगवती दुग्ध उत्पादक सहकारी संस्थासँग सहकार्य गरेको डेरी उद्योगले रोयल च्वाइस ब्राण्डको दूधका उत्पादनका साथै उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन गर्ने सञ्चालक पाण्डेले बताए । “हामी दूधमात्रै नभई दूधका अन्य परिकारसमेत उत्पादन गर्छौं,” उनले भने ।