विचार, विकास, विवाद र गठबन्धन

विभिन्न गठबन्धनलाई जोडेर सरकार बनाइएको अहिलेको अवस्थामा प्रत्येक एजेन्डामा फरकफरक चिन्तन र विचारमा मतभेद आउनु स्वाभाविकै हो । नेपालको संविधान अनुसार पहिलो तथा दोस्रो आम निर्वाचनपछि अहिलेसम्म एउटामात्र पार्टीको सरकार बन्ने अवस्था आएको छैन । अबका दिनमा एकल सरकार बन्ने अवस्था निकै झीनो छ । तसर्थ कुनै न कुनै रूपमा बहुध्रुवीय विचारको सहमतिले प्रतिध्रुवीय विचारलाई परास्त गर्दै देशको विकास गर्नुपर्ने आवश्यकता छ । विकास नितान्त प्राविधिक कार्य हो, यसमा विचारले के गर्छ भन्नेहरू पनि भेटिन्छन् । तर, विकास इतिहासको कुनै पनि काल खण्डमा केवल प्राविधिक विषय रहेन । हामीहरूले निजगढ अन्तरराष्ट्रिय विमानस्थल राष्ट्रिय आवश्यकताको प्राथमिकतामा कति नम्बर पर्छ भन्ने हो भने विभिन्न मत प्राप्त हुन्छन् । विचारमा वस्तुनिष्ठ विविधता पक्कै पनि राम्रो कुरा हो । तर, आर्थिक, सामाजिक, वातावरणीय पक्ष र भोलिको उपलब्धिसमेतलाई विश्लेषण नगरी केवल विरोधका लागि विरोध र समर्थनका लागि समर्थन गर्ने परिपाटी नेपालमा देखिन्छ । यसले गर्दा सरासर काम गर्न सरकारलाई कठिन हुन्छ किनकि सरकार बहुध्रुवीय सोचको गुँड बनेको छ । विचारमा द्वन्द्व र मतभेदहरू घनीभूत हुन सक्छन् । तर, विकासको प्रक्रिया, मोडल र साधनस्रोतको उपलब्धता सबै स्पष्ट छ भने धेरै द्वन्द्व र मतभेद नहुनुपर्ने हो । हामीमा अहिलेसम्म नि:स्वार्थ विकास परियोजना छनोटको मोडलको विकास भएको छैन । यही कारण हाम्रा अत्यावश्यक योजना पनि समयमा पूरा हुन सकेका छैनन् । आफ्नो पार्टीको स्वार्थ मिलेमा अनावश्यक परियोजना पनि सजिलै पारित हुने तर स्वार्थ बाझिएमा आवश्यक योजनामा पनि विवाद हुने अवस्था गठबन्धनमा हुन्छ । यो समस्या मात्र होइन अति उपयोगी क्षेत्रमा विकास गर्ने अवसर पनि हो । मेलाम्ची खानेपानी आयोजनामा विरोध गर्ने कोही थिएन र पनि यो योजना पूरा हुन वर्षौं लाग्यो । फास्टट्र्याकमा विरोध गर्नुपर्ने कुनै कारण छैन र पनि काममा तीव्रता आउन सकेको छैन । बूढीगण्डकी जलाशययुक्त विद्युत् परियोजना त शुरू हुनै सकेको छैन । यसरी आआफ्नो आर्थिक दुनो सोभ्m्याउन कुनै योजनाको काम रोक्ने, ठेक्का तोड्नेजस्ता कामले त्यो योजनाको लागत व्यापक रूपमा बढेको देखिएको छ । हाम्रो देशको समस्या भनेको योजनाको प्राथमिकीकरण राम्रोसँग हुन नसक्नु हो । परियोजनाबाट हुने लाभ, त्यसको लागत र आवश्यकतामा भन्दा त्यो योजना सफल भएमा चुनावी भोट कुन पार्टीलाई जान्छ भन्ने कुतर्कबाट विकासका गतिविधि प्रभाव पार्ने प्रवृत्ति नेपालमा छ । यो नै विकासको मूल बाधक हो । त्यसैले आवश्यक योजनालाई निरापद रूपमा अगाडि बढाउने भन्ने बारेमा सोच्ने परिपाटी गठबन्धनभित्र नै खोजिनुपर्छ । विकासमा वैचारिक मतभेद हावी नहोस् भन्ने सूत्रको खोजी हुन जरुरी छ । कुनै आयोजना मानिसलाई अत्यावश्यक हुन्छन् भने त्यस्ता योजनालाई सबै सरोकारवालाले सकारात्मक हरियो झण्डा देखाउनुपर्छ । साथै सरकारले पनि योजनाको आवश्यकताको गहिराइलाई स्पष्टसँग सरोकारवालासँग राख्नुपर्छ । भौतिक विकासले सबै जनता र सबै भौगोलिक क्षेत्रलाई नसमेट्न सक्छ तापनि समानुभूतिको शक्तिलाई प्रस्फुटन गरी अरूको अति आवश्यकतालाई आफ्नो सामान्य आवश्यकताभन्दा माथिल्लो श्रेणीमा राखेर हेर्ने परिपाटीको विकास हुनुपर्छ । सबैका समस्यालाई सकेसम्म छिटो समाधान गर्ने प्रयास राज्यले गर्नुपर्छ तर पनि थोरै मानिसको उस्तै समस्यालाई भन्दा धेरै मानिसको समान समस्या समाधानमा बढी प्राथमिकता दिनुपर्छ । थोरै जनतालाई अति बढी पीडा छ भने त्यसलाई सक्दो छिटो समाधान गरिनुपर्छ । ठेकेदार फेर्दा अमुक व्यक्ति वा नेतालाई बढी फाइदा हुन्छ वा अमुक पार्टीलाई चुनाव खर्च उठाउन सजिलो हुन्छ, अर्थात् राजनीतिक स्वार्थ पूरा हुन्छ । त्यसैले सरकार फेरिनासाथ योजनाका गति रोकिन्छन् । यस्ता कुरा सत्य हुन् वा होइनन् यो लेखले पुष्टि गर्न सक्दैन तर ठेकेदार कम्पनी फेर्दा आयोजनाको लागत बढ्ने गरेका अनेक उदाहरण हामीमाझ छन् । यी कुराहरूको निर्ममतापूर्वक छानबिन गरिएन भने सरकारको काम पनि नदेखिने र जनताले लाभ पनि नपाउने अवस्था रहिरहन्छ । विकासका लागि विचार अन्तिम साधन होइन, काम हो । त्यो भन्दा पनि कुन काम पहिला गर्ने भन्ने प्राथमिकताको छनोट गर्न सक्नु हो । उद्विकास प्राकृतिक तत्त्व भएकाले यसलाई रोक्न सकिँदैन । चौरमा भए पनि बच्चा पढाउनुपर्‍यो । बिस्तारै सुविधा सम्पन्न विद्यालय भवन बनाउँदै जाने हो । विकास तथा उद्विकास आफ्नै प्रक्रियाले अगाडि बढ्नेमा विवाद भएन तर कुन काम कतिबेला गर्ने र परियोजनामा मितव्ययिताको व्यवस्थापन कसरी गरेमा देशको विकास छिटो भन्नेमा सरकारमा संलग्न भएका दलहरू बीच अनावश्यक खिचलो हुनु हुँदैन । एकआपसमा घनीभूत चिन्तन गरेर सकेसम्म छिटो अतिआवश्यक परियोजना पूरा गर्नेतर्फ लाग्नुपर्छ । सरकारमा बस्नेहरूले कुनै पनि निजी स्वार्थ त्याग्ने हो भने दिगो विकासका लक्ष्यहरू पूरा गर्न कठिन हुँदैन । यो लेख भावनात्मक होला तर प्रयोगात्मक रूपमा हेर्ने हो भने विकासका लागि विरोधलाई थाती राखेर अघि बढ्नुको विकल्प छैन । विकास भौतिकमात्र हुँदैन, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, जनताको अमनचैन जस्ता विविध पक्षसँग सम्बद्ध हुन्छ । त्यसैले विविध विचार बोकेर आएका सरकारका सदस्यहरूले उच्चस्तरको सकारात्मक ऐक्यबद्धता कायम गर्दै लैजानुपर्छ । जतिसुकै सहमतिको प्रयास गरे पनि बहुदलमा विवाद, द्वन्द्व, क्रिया प्रतिक्रिया निरन्तर चलिरहन्छ । यो सबैसँग डटेर अगाडि बढ्नु, खटेर काम गर्नु नेपालको वर्तमान आवश्यकता हो । सरकारले अनेक द्वन्द्व र विरोधका बीच पनि विकासको गतिलाई तीव्र गतिमा गतिशील बनाउन सक्नुपर्छ । सानातिना अवरोधमा डराउने काम सरकारले गर्नु हुँदैन । सरकार नदी हो पानी होइन । पानी बढी भएमा बाढी बन्न सक्छ । तर, नदीले बाढीलाई आत्मसात् गरेर सागरसम्म पुग्ने बाटो दिन्छ । सामान्य अवस्थामा खेत खेतमा पुग्ने नहर बन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।

सम्बन्धित सामग्री

एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । शंकर पोखरलेको सम्भावना कति ?महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । तेस्रो प्रयासमा सुरेन्द्र पाण्डेमाधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।

कर्मकाण्डी साझा कार्यक्रम

गठबन्धन सरकारलाई सहज रूपमा सञ्चालन गर्न सरकारले ११ ओटा प्राथमिकता तय गरी न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । भिन्न विचार र राजनीतिक दर्शन बोकेका दलहरू बीच गठबन्धन भई संयुक्त सरकार सञ्चालन गर्न परेको अवस्थामा यस्तो साझा कार्यक्रम आवश्यक थियो । तर, साझा कार्यक्रममा उल्लिखित बुँदाहरू हेर्दा यो हतारमा तयार पारिएको र लक्ष्यमूलक बनाउनभन्दा सबैलाई खुशी पार्न लक्षित भएको देखिन्छ । सरकारको आवश्यकतालाई पूरा गर्ने तर देशमा तात्त्विक परिवर्तन ल्याउन भने खासै दृष्टिकोण नभएको कार्यक्रम रहेको देखिन्छ । सरकार सञ्चालनका लागि सबै दलबीच न्यूनतम कार्यक्रम आउँदा पक्कै एउटा समझदारी बन्ला तर यसले आर्थिक पुनरुत्थान तथा सुशासनका क्षेत्रमा तात्त्विक परिवर्तन ल्याउला भन्ने अपेक्षाचाहिँ गर्न सकिँदैन । तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गरेपछि त्यसविरुद्ध दलहरूबीच एक किसिमको कार्यगत एकता भएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिए पनि नयाँ सरकारमा सामेल हुन सबैजसो दललाई कर परेको छ । तर, जलविद्युत्को विकासका लागि महत्त्वपूर्ण मानिएको एमसीसी परियोजना पारित गर्नेलगायत विषयमा दलहरूबीच विपरीत धारणा रहेको छ । यस्तोमा न्यूनतम कार्यक्रम आवश्यक हुन्छ र यसले त्यस्ता विवाद ल्याउने खालका विषयलाई छोएको छैन । अर्थतन्त्रलाई पुनर्जीवित गर्न क्रान्तिकारी नीति लिइनुपर्ने, संवैधानिक अंगहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सबल बनाउने जस्ता कुराहरू पनि साझा कार्यक्रमको प्राथमिकतामा पर्न सकेको देखिँदैन । त्यसैले यो न्यूनतम साझा कार्यक्रम सत्तारूढ गठबन्धनको सबै कुरालाई सम्बोधन गर्न खोजिएको तर ठोस कुरा केही पनि नभएको दस्तावेजका रूपमा देखिन्छ । १५ पेजको कार्यक्रम भएकाले यसका अमूर्त रूपमा देशका धेरैजसो मुद्दालाई सम्बोधन गरिएको छ । दलहरूको घोषणापत्र जस्तै लाग्ने यो साझा कार्यक्रमले ठूला र अमूर्त कुरालाई बढी प्राथमिकता दिएको पाइन्छ । तैपनि केही कुराहरू सकारात्मक छन् । यसलाई निर्देशात्मक कार्यक्रमका रूपमा प्रतिबद्ध भएर लागू गर्न खोजिए केही उपलब्धि हुन सक्ला तर अर्थतन्त्रले जुन खालको पोलिसी डिपार्चर खोजेको छ त्यस्तो कुनै साहसिक काम सरकारले गर्न खोजेको देखिँदैन । संसद्मा अर्थतन्त्रसँग सम्बद्ध दर्जनौं विधेयक पारित हुन नसकेर बसेको छ । साझा कार्यक्रमले अर्थतन्त्रसँग सम्बद्ध सबै विधेयक ३ महीनाभित्र पारित गरिसक्ने नीति लिएको छ । यो कुनै ठूलो कुरा नभई संसद्को नियमित काम हो तर पनि यो नीतिअनुसार काम भए अर्थतन्त्रका लागि निकै सहयोगी हुने देखिन्छ । अहिले संसद्लाई काम नदिइएको देख्दा साझा कार्यक्रमको यो बुँदा कार्यान्वयन भइहाल्ला भन्ने देखिँदैन । कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले आर्थिक प्याकेज ल्याउने नीति साझा कार्यक्रममा परेको छ । यो ओली सरकारले पनि भन्दै आएको र वर्तमान सरकारले पनि भनेकै विषय हो । तर, व्यापक रूपमा प्रभाव पार्नेगरी पुनरुत्थान प्याकेज ल्याउन सरकारसँग स्रोतको कमी छ । करको दर कटौतीमात्रै गर्न पनि सकिने अवस्था छैन । बढी गर्ने भनेको कर तिर्ने समयावधि थपिदिने हो मात्रै हो । सरकारले पर्यटन क्षेत्रलाई राहत कार्यक्रम ल्याउने नीति लिएको छ । राहतले पर्यटनलाई खासै टेवा देला भन्न सकिँदैन । त्यसैले पर्यटनलाई राहत होइन, पुनःस्थापित गर्न आवश्यक छ । पर्यटनलाई पुनर्परिभाषित गरी नयाँ रणनीति बनाउन आवश्यक छ । कोरोना भ्याक्सिन चैतसम्ममा सबै नागरिकलाई उपलब्ध गराउने नीति सकारात्मक छ तर भ्याक्सिन उत्पादनका लागि ल्याबको स्थापना गर्ने भन्ने विषय पक्कै पनि त्यति सहज देखिँदैन । कुनै देशले यस्तो इच्छा देखाएकाले यस्तो बुँदा पारिएको हो भने त्यो अलग विषय हो । शान्ति सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने जस्ता शीर्षकमा राखिएका सबै कार्यक्रम राम्रा छन् तर ती सबै असल भावनाले युक्त वाक्य मात्रै हुन् भन्ने देखिन्छ । सरकार सञ्चालनका लागि सबै दलबीच न्यूनतम कार्यक्रम आउँदा पक्कै एउटा समझदारी बन्ला र सरकार सञ्चालनमा खटपट नहोला भन्ने आशा गर्न सकिन्छ । तर, यसले आर्थिक पुनरुत्थान तथा सुशासनका क्षेत्रमा तात्त्विक परिवर्तन ल्याउला भन्ने अपेक्षाचाहिँ गर्न सकिँदैन ।