फेसबुकले प्रतिस्पर्धा मिचेको मुद्दा खारेज

असार १५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाका संघीय अदालतका एक न्यायाधीशले बजारमा प्रतिस्पर्धा कायम राख्ने कानूनको उल्लंघन गरेको भन्दै फेसबुकमाथि दायर भएको मुद्दा खारेज गरिदिएका छन् ।   कम्पनीले सामाजिक सञ्जाल बजारमा मनपरी गरेको पर्याप्त प्रमाण नभएको भन्दै सोमवार कोलम्बिया जिल्लाका संघीय अदालतका न्यायाधीश जेम्स बोसबर्गले मुद्दा खारेज गरिदिएका हुन् ।  संघीय व्यापार आयोगले गत डिसेम्बरमा निष्पक्ष प्रतिस्पर्धामा खलल उत्पन्न गर्न फेसबुकले इन्ष्टाग्राम र ह्वाट्सएप जस्ता सम्भावित प्रतिस्पर्धीहरु किनेको आरोप लगाउँदै फेसबुकमाथि मुद्दा दायर गरेको थियो । मुद्दा कानूनी रुपमा कमजोर भएको र आरोप पुष्टि गर्ने प्रमाण पनि कम भएको बेसबर्गको ठहर छ । सो फैसलासँगै न्यूयोर्क स्टक एक्सचेञ्जमा फेसबूकको शेयरमूल्य ४ दशमलव २ प्रतिशतले बढेको थियो भने बजार पूँजीकरण पहिलो पटक १० खर्ब डलर नाघेको थियो ।  कम्पनीमाथि लगाइएको आरोप अति नै अस्पष्ट रहेको फैसलामा बोसबर्गले भनेका थिए । अमेरिकी नियामक र कानून निर्माताहरुले ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण कसिलो बनाउन कदम चाल्नु पर्ने बहस भइरहेको समयमा पछिल्लो सुनवाईले कस्तो नजिर बसाल्छ भन्नेतर्फ धेरैको ध्यान गएको छ ।  बजारमा प्रभूत्वमार्फत प्रतिस्पर्धालाई कमजोर बनाएको भन्दै गूगल, एप्पल, फेसबुक र एमाजनको आलोचना चर्किदै गइरहेको छ । एजेन्सी