नाम्खा गाउँपालिका–१ का सोनाम लामाको बारीमा २ वर्षपछि स्याउ फलेको छ । ‘जहिले पनि फूल फुल्ने बेला असिना र हिउँ पर्ने,’ उनले भने, ‘यो वर्ष पनि फल्दैन भनेर गोडमेल नै गरेन, तर स्याउ भने लटरम्मै फल्यो ।’ उनको बारीमा झन्डै ५ सय बोटमा स्याउ फलेको छ । तर उनी स्याउ कसरी बजार पुर्याउने भन्ने चिन्तामा पनि छन् । ‘सडक छैन, जहाजबाट सबै स्याउ बाहिर पठाउन सकिँदैन,’ उनले भने, ‘पहिले तिब्बती बजारमा लगेर स्याउ बेच्थ्यो, कोरोना महामारीका कारण चीनले नाका खोलेको छैन, स्याउ बेच्नै मुस्किल हुने भयो ।’