याङ्गुन । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ ।
आइतबार बिहान समेत ठुलो सङख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइनमार्फत आम जनतालाई आह्वान गरिएको थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई सहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।
उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेलाई रबरको गोली लागेको बताए । उनले गोली लागेका व्यक्तिहरू अस्पतालमा ल्याउने क्रम रहेकाले घाइते वा मृतकको सङ्ख्या अरू बढ्न सक्ने जानकारी दिए ।
आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।
म्यान्मारमा सेनाले गत फेबु्रअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।
सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारूढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ । (रासस–एएफपी)