तरलता अभावले बैंक तथा वित्तीय संस्थाहरू छटपटाइरहको बेला सहकारी संस्थाहरू भने उत्साहित देखिएका छन् । पैसा जम्मा गरिदिनका लागि वाणिज्य बैंकका अधिकारी आफ्नो ढोका चहार्न थालेपछि सहकारीहरूले बैंकहरूसँग बढी निक्षेप ब्याजदर माग गर्न थालेका छन् । अहिले वाणिज्य बैंकहरूले दैनिक मुद्दतीमा १७–१८ प्रतिशत ब्याज तिरेर समेत सहकारीबाट निक्षेप लिइरहेको बताइएको छ ।
‘सहकारीहरूलाई अहिले दसैं आएको छ’ न्युरोडको संकटा सहकारीका प्रबन्ध निर्देशक विन्देश्वर श्रेष्ठ बताउँछन् । उनका अनुसार मानिसहरू बैंकबाट पैसा निकालेर सहकारीमा जम्मा गरिरहेका छन् । सहकारीहरू त्यही पैसालाई महँगो ब्याज लिएर बैंकमा जम्मा गरिरहेका छन् । ‘बैंकमा मात्रै हो पैसाको अभाव भएको, हामीसँग जति पनि पैसा छ । त्यसैले सहकारीको महŒव बढेको छ ।’ उनी भन्छन् ।
देशभरका करिब १६ हजार सहकारी संस्थाहरू छन् जसमध्ये करिब २६ सय काठमाडौं उपत्यकामा छन् । सहकारीको अनुगमन गर्ने निकाय नभएकाले उनीहरूको निक्षेप लगानीको अवस्थाको बारेमा कहीँ कतै यकिन तथ्यांक छैन । तर, सहकारीका सञ्चालकहरू नै अहिले देशभरिका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा सहकारीसँग निकै गुना बढी पैसा रहेको बताउँछन् । बैंकमा तरलताको समस्या उत्पन्न भएपछि बैंकका सञ्चालकहरूले नै सहकारीमा पैसा राख्ने क्रम बढेको उनीहरूको भनाइ छ । ‘हरेक बैंकका पदाधिकारीहरू कुनै न कुनै सहकारीमा आबद्ध छन् र उनीहरूले नै बैंकबाट पैसा निकालेर सहकारीमा राखिरहेका छन् । बैंकका पदाधिकारी र कर्मचारीहरूले सहकारीका राखेको पैसा बैंकमा जम्मा गर्ने हो भने २–४ अर्ब त बैंकमा यत्तिकै जम्मा हुन्छ’ श्रेष्ठ भन्छन् ।
वर्ष ५, अंक २०, २०६६, माघ ४–१०