‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

मंगलबार साढे २२ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल आफू जत्तिको अब्बल कोही छैन भन्ने घमण्ड पाल्थे । उनले सधैँजसो आफ्नो पढाईमा घमण्ड गरिरहन्थे ।नगरुन् पनि किन ? उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाए । बेलायतमा अध्ययन सकेर उनी नेपाल फर्किएको ८ महिना मात्रै भएको छ । छात्रवृत्तिमा विदेशमा पढेर फर्किएपछि पाल्पाका उनी पर्यटन मन्त्रालयमा काम गर्न थालेका थिए । तर, ८ महिनामै साढे २२ लाख घुससहित अख्तियारको फन्दामा परे ।पर्यटन व्यवसाय (प्याराग्लाइडिङ) को अनुमतिका लागि उपसचिव नेपालले घुस लिएका थिए । घुस लिने गरी तयारी गरिरहेको संकेत पाएपछि अख्तियारको टोलीले उनलाई पछ्याईरहेको थियो । नभन्दै, नेपालले नागपोखरीस्थित होटल अरण्यमा पुगेर व्यवसायीसँग घुस लिए । ६ लाख घुस, १६ लाख बिना स्रोतकोअख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनको साथमा भेटिएको साढे २२ लाखमध्ये ६ लाख साथबाटै र बाँकी साढे १६ लाख गाडीमा भेटिएको हो । ‘उहाँलाई हामी अख्तियारबाट हौँ भनेर खानतलासी गर्दा साथबाटै ६ लाख रुपैयाँ भेटियो, सरकारी गाडीमै उहाँ त्यहाँ पुग्नु भएको रहेछ, सरकारी गाडी भएकाले त्यहाँ पनि टोलीले खानतलास गर्यो, त्यसक्रममा थप १६ लाख भेटियो’ भण्डारीले भने, ‘६ लाख चाहिँ त्यति नै खेर उहाँले लिएको घुस थियो । गाडीमा फेला परेको साढे १६ लाखको सम्बन्धमा पनि हाम्रो टोलीले यो पैसा कसको हो, कहाँबाट अयो भनेर सोधखोज गर्यो । उहाँले भन्न सक्नु भएन, त्यसको पनि कुनै स्रोत नखुलेपछि उक्त रकम पनि बरामद गर्यौ ।’मन्त्रालयमा दबदबा थियो नेपालकोविदेशमा अध्ययन सकेर ८ महिना अघि नेपाल फर्किएर पर्यटन मन्त्रालयमा हाँजिर गरेदेखि नै उपसचिव नेपालको ‘रवाफ’ छुट्टै थियो भन्छन् मन्त्रालयका अरु कर्मचारीहरु । यतिसम्म कि उनले आफूलाई ‘भावी मुख्यसचिव’ सोचिसकेका थिए । बेला बेला भन्थे पनि ।‘जुनियर कर्मचारीहरुसँग पनि कहिलेकहीँ भनेको सुनिन्थ्यो, उहाँको शाखा नै हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा हो’ मन्त्रालयका कर्मचारी भन्छन्, ‘हवाई शाखा भएकाले हवाई सम्बन्धि व्यवसायीहरु सिँधै ठोकिन्थे । त्यतिबेला कहिलेकहीँ उहाँले म यो देशको भविष्यको मुख्यसचिव हुँ, म विदेशमा पढेर आएको मान्छे हुँ, के सोच्या छ भनेर भनेको सुनिन्थ्यो ।’यति मात्रै नभई उनले पाल्पाका पूर्व सांसद हरि नेपालको ‘साख्यै’ भतिज हुँ भनेर पनि गफ लगाउने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायी कसरी ठोकिए ?प्याराग्लाइडिङ हवाई उड्डयन प्रकृतिको साहसिक खेल हो । त्यसैले यसको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्छ । तर, तालुक मन्त्रालयबाट पनि सहमति चाहिने भएकाले मन्त्रालयको नागरिक उड्डयन महाशाखामा व्यवसायीले सैद्धान्तिक सहमति माग गरेर निवेदन दिनुपर्छ ।नागरिक उड्डयन महाशाखाको प्रमुख सह–सचिव बुद्धिसागर लामिछाने छन् । तर, यो महाशाखामा उपसचिव प्रमोद नेपाल अप्रत्यक्ष रुपमा हाबी थिए भन्ने दाबी स्रोतको छ । उपसचिव नेपालले  नै प्याराग्लाइडिङ व्यवसायका लागि ‘उडान योग्यता अनुमतिपत्र’ जारी गरिदिनुपर्ने भएकाले यसका लागि उनले व्यवसायीसँग घुस लिएका हुन् ।अख्तियारले बुधबार विशेष अदालतमा पेश गरेर म्याद थप गरी अनुसन्धान सुरु गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

‘गोल्ड मेडलिस्ट’ उपसचिवलाई घुस दिने व्यवसायीले पाए प्याराग्लाइडिङ उडाउने अनुमति

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेपछि उनलाई अख्तियारको कठघरामा उभ्याएका व्यवसायीले प्याराग्लाइडिङ उडानको अनुमति पाएका छन् । अनुमति पाएसँगै अब व्यवसायीहरु पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.को नामबाट म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउने भएका छन् । पर्यटन मन्त्रालयले आइतबार ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.लाई म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ सिख क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उनीहरुलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिनुनपर्ने कुनै कारण नै नभई उपसचिव नेपालले घुस लिने मनशायले फाइल रोक्दै आएका थिए । उनले नागरिक उड्डयन महाशाखाका प्रमुख सह–सचिव बुद्धिसागर लामिछानेलाई समेत प्रभावमा पारेका थिए । यसअघिः‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिएतर, घुस लिँदालिँदै उपसचिव पक्राउ परेपछि मन्त्रालयका अधिकारीहरुले हतार हतार फाइल अघि बढाएर साउन ३० गते सोमबार व्यवसायीहरुलाई बोलाएर अनुमति दिएका हुन् । अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउन व्यवसायीहरुले ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रा.ली.को नामबाट पर्यटन मन्त्रालयमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारीसमक्ष २४ पौष २०७६ मा निवेदन दिए ।कोरोना महामारीका कारण काम अघि बढेन । तर, गत वैशाखमा पुनः व्यवसायीहरु ‘फलोअप’का लागि पर्यटन मन्त्रालयमा जाँदा फाइल हराएको दिईएको थियो । त्यसपछि उनीहरुले ८ असारमा पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पुनः निवेदन दिए । यो पनिः‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिवयस क्रममा उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागे । सेवाग्राही चौलागाईं र पुनले अख्तियारमा उजुरी दिए । उजुरीपछि खटिएको अख्तियारको टोलीले १७ साउनमा नागपोखरीस्थित होटल अरण्यबाट उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुस र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजारसहित पक्राउ गर्यो । लगत्तै, अताल्लिएका पर्यटन मन्त्रालयका अधिकारीहरुले तत्काल काम अघि बढाएर चौलागाईं र पुनको कम्पनीलाई प्याराग्लाइडिङ उडानको अनुमति दियो ।अनुमति पाएसँगै अब ग्लोबल ट्राभल एण्ड एडभेन्चर्सले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने भएको छ । ८ मध्ये ५ थान टेन्डम (दुई जना बसेर उड्न मिल्ने) र ३ थान सोलो (एकल) प्याराग्लाइडिङ हुनेछन् ।यसअघिःघुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

घुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

१७ साउनको मध्यान्हतिर पर्यटन मन्त्रालयका उप–सचिव प्रमोद नेपाल काठमाडौँको नागपोखरीस्थित होटल अरण्यबाट घुस रकमसहित पक्राउ परे । ६ लाख रुपैयाँ घुस र १६ लाख ५० हजार रुपैयाँ स्रोत खुलाउन नसकेको गरी कुल साढे २२ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको फन्दामा परेका उपसचिव नेपाललाई कोरोना पोजेटिभ देखिएपछि अहिले नेपाल प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कोभिड प्रमाणित भएका कारण अख्तियारले उनीसँग बयान लिन पनि सकेको छैन । गत बुधबार नै विशेष अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको भएपनि सोही दिन उनलाई कोरोना देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको हो ।नेपालले भने, ‘मोबाइलको प्याटर्न बिर्सिएँ...’त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनका बेला नेपालले गोल्ड मेडल पाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट सरकारी सेवामा प्रवेश गरेका नेपालले सरकारकै छात्रवृत्तिमा बेलायतमा समेत अध्ययनको अवसर पाएका थिए ।बेलायतको अध्ययन सकेर उनी ८ महिना अगाडी मात्रै नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनी पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखाको हवाई सम्झौता तथा अन्तराष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुखका रुपमा काम गर्न थालेका थिए ।कामकै शिलशिलामा पर्यटन व्यवसायी पूर्ण चौलागाईसँग घुस रकम लिँदै गरेको अवस्थामा उनी रंगेहात समातिए । पक्राउ पर्दा सुरुमा उनी अख्तियारका अधिकारीहरुसँग खासै झस्किएनन् । सायद विश्वास गरेनन् । तर, जब अख्तियारको रेकी टोलीले घेरेर गाडीको ‘ड्यासबोर्ड’बाट ६ लाख र पछाडीको सिटबाट साढे १६ लाख बरामद गरेर ‘यो पैसा कहाँबाट आयो ?’ भनेर सोध्न थालेपछि अकमक्किए । अख्तियारको टोली ६ लाख घुस लिएको भन्नेमा कुनै सन्देहमा थिएन । किनकी, यसको पूर्व सूचना पाएरै टोलीले पछ्याएको थियो । तर, होटलमै ३ घण्टा बढी ‘केरकार’ गर्दा अख्तियारको टोलीले गाडीमा भेटिएको अर्को १६ लाख ५० हजारमा बढी केन्द्रित भयो । पैसाको स्रोतका सम्बन्धमा उपसचिव नेपालले अस्पष्ट जवाफ दिईरहे ।यसअघिः‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव‘यो मेरै पैसा हो, २ दिनदेखि यहीँ गाडीमै छ’ सुरुमा उपसचिव नेपालले अख्तियारको टोलीसँग भनेका थिए । लगत्तै ‘२ दिनसम्म यति धेरै पैसा गाडीमा किन राखेको ? लुकाएको हो ?’ भनेर टोलीका एक अधिकारीले अलि चर्को स्वरमा सोधेपछि उपसचिव नेपालले ‘१० लाख मेरै हो, मैले सेयर बेचेर आएको पैसा झिकेर यहाँ राखेको । ६ लाख ५० हजार साथीसँग सापटी लिएर राखेको हुँ’ भन्ने जवाफ दिए ।उनको यो जवाफ सुनेपछि अख्तियारको टोलीले ‘कुन ब्रोकरबाट सेयर बेचेको हो ?’ र ‘को साथीबाट सापटी लिएको हो ?’ भनेर अर्को प्रश्न तेर्स्यायो । त्यसपछि त उपसचिव नेपालले आफूले सेयर कारोबार गर्ने ब्रोकर नै बिर्सिएको जवाफ दिए ।‘कुन ब्रोकर हो बिर्सिएँ मैले’ नेपालको मुखबाट यस्तो जवाफ सुन्नासाथ अख्तियारको टोलीका एक सदस्यले सोधिहाले, ‘अनि पैसा सापटी दिने साथी नि ?’ यो प्रश्नमा पनि उनले ‘त्यसको नाम के पो थियो, बिर्सिएँ’ भन्ने जवाफ दिए ।‘छ छ लाख ऋण सापटी दिने साथीको नाम थाहा हुँदैन ? नाम थाहा नभए मोबाइलमा नम्बर होला नि त ? खोई लक खोल्नुस् त !’ टोलीले जफत गरिसकेको उनको मोबाइल दिँदै भन्यो । उनले ‘प्याटर्न बिर्सिएँ’ भन्ने जवाफ दिए ।त्यसपछि भने अख्तियारको टोलीले अलि कडा स्वरमै ‘आफ्नो मोबाइलको प्याटर्न लक पनि बिर्सिन्छ ? बिर्सिने खालको लक किन राखेको त ?’ भन्दै प्रश्न गरेपछि उपसचिव नेपालले पनि ‘यस्तो तनाव भएको बेलामा बिर्सिहाल्छ नि मान्छेले’ भन्ने उत्तर दिए ।अनेकौँ सवाल जवाफ गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि अख्तियारको टोलीले उनलाई लिएर गयो ।