भदौ ३१, बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल शुरुआत हुन थालेको छ ।
कोरोना जोखिम कम हुँदै गएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका तथा सरकारी तथा गैरसरकारी संघ सस्थाका तालिम कार्यक्रम हुनेक्रम शुरु भएका छन् ।
बनेपा नगरपालिका–६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट पुनःसञ्चालनमा आएको छ । कोभिड–१९ का कारण सो होटल बन्द थियो ।
आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्न थालेको होटलका व्यवस्थापक अशोक बडालले जानकारी दिए । विसं २०७७ चैत महीनादेखि सो होटल सञ्चालनमा आएको थियो । शुक्रवार र शनिवार आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको उनले बताए ।
धुलिखेल नगरपालिका–८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालक प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी होटल व्यवसायलाई प्रभावित बनाएको बताए ।
‘अहिले संक्रमणदर कम हुँदै गएपछि विस्तारै चहलपहल बढ्न थालेसँगै छ’, उनले भने, ‘विशेषगरी शुक्रवार र शनिवारका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै सरकारी, गैरसरकारी संघसंस्थाका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न थालेका छन् ।’
‘नेपाल भ्रमण वर्ष सन् २०२०’ का अवसरमा यहाँ सरकारी, गैरसरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विविध कार्यक्रम अगाडि बढाइएको थियो । यसबीचमा कोभिड–१९ संक्रमणको जोखिम देखाप¥यो ।
सञ्चालक प्याकुरेलले भने ‘सरकारले पर्यटन व्यवसायलाई दिने भनेको सुहलियतपूर्ण छुटलाई कार्यान्वयन गर्न आवश्यक छ ।’ धुलिखेल नगरपालिका–३ स्थित होटल मिरावेल रिसोर्टका सञ्चालक दीपक थापाले आन्तरिक पर्यटकका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेको बताए । ‘होटलमा व्यापारिक, गैरसरकारी संघसंस्थाको गोष्ठी, तालिमका कार्यक्रम सञ्चालन र पारिवारिक घुमघामका लागि पर्यटक आउन थालेका छन् ।’
धुलिखेलमा मात्रै साना–ठूला गरी करीब ६५–७० होटल सञ्चालनमा छन् । कोरोना भाइरस संक्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय संक्रमणदर कम भएसँगै विस्तारै सञ्चालन गर्न थालेका हुन् । जिल्लामा रहेको ठूला तथा मझौला खालका होटल व्यवसाय सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोपको सेवा उपलब्ध गराएको थियो ।
विषेशगरी पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर महिना घुमघाम गर्ने याम मानिन्छ । बाह्य पर्यटकको आवागमन शून्यप्रायः भए पनि आन्तरिक पर्यटकले आफ्नो गतिविधि बढाउनुले व्यवसायमा आशा जगाएको होटल सञ्चालक बताउँछन् । रासस