मकवानपुरका सेन राजाबाट काजी दामोदर कोइरालाले दुम्जा क्षेत्र खान्की बिर्ताका रूपमा पाएका थिए । तिनै दुम्जाली कोइराला परिवारका चार जना नेपालको प्रधानमन्त्री बन्नुभयो । तीमध्ये तीन प्रधानमन्त्रीका पिता हुनुहुन्थ्यो, पिताजी कृष्णप्रसाद कोइराला । जो दुम्जाको धरिनडाँडामा जन्मिनुभएको थियो । इतिहासको यो गहकिलो र गर्विलो कथा पछ्याउँदै दुम्जाको धरिनडाँडालाई बीपी पार्कका रूपमा विकास गर्ने कार्य अगाडि बढिरहेको छ ।
पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल र युवा उमेर बिताएको धरिनडाँडालाई सङ्घीय सरकारले नियमित बजेटमार्फत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अवधारणाअनुसार अगाडि बढाएको छ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, दुम्जास्थित धरिनडाँडाको ७६ रोपनी जग्गा अधिग्रहण र करिब १७८ रोपनी सार्वजनिक जग्गासहित गुरुयोजना बनाई बीपी पार्कको कार्यलाई अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ ।
आयोजना प्रमुख नारायण भण्डारीका अनुसार करिब ५० करोड रुपियाँको लागत रहेको गुरुयोजनाबमोजिम बहुवर्षीय योजनाअनुसार पार्कको निर्माण कार्यलाई अगाडि बढाइएको छ । जसअनुसार यस वर्ष पार्कसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । यस आर्थिक वर्षका लागि सरकारले दुई करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ ।