पुस २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको मूल्य समायोजन गरेको हो ।
यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४४१ दशमलव ९७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ४७६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यस्तै, नेप्सेले गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ४५४ दशमलव ४५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९९ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।