काठमाडौं (अस) । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच सुनसरीमा अन्तरक्रिया सम्पन्न भएको छ । सुनसरी रत्न तथा आभूषण संघद्वारा सुरु गरिएको ‘स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमश्वर शाक्य, बैंकका धरान शाखा प्रबन्धक प्रकाश झा, इटहरी शाखा प्रबन्धक चन्द्रदीप पहाडी, विराटनगर शाखा प्रबन्धक देवीप्रसाद चम्लागाई उपस्थित थिए ।
उक्त कार्यक्रममा सुनसरी रत्न तथा आभूषण संघका अध्यक्ष टेकबहादुर यङदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ प्रदेश १ संयोजक तथा संघका संस्थापक अध्यक्ष विसन शाक्य तथा धरान, इटहरी, इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालीगढको उपस्थिति थियो ।
अन्तरक्रियामा व्यवसायी र बैंकबीच बैंकिङ सहकार्यबारे छलफल भएको थियो । बैंक र महासंघमा आबद्ध व्यवसायी एवं ती संस्थामा कार्यरत कालीगढ एवं कर्मचारीलाई बिनाधितो सहुलियत कर्जा र विशेष छुटमा व्यावसायिक ऋण उपलब्ध गराउने, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निम्ति संघसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउन गत असार २० गते दुई पक्षबीच सम्झौता भएको थियो ।