काठमाडौं (अस) । यामाहा कम्पनीको नयाँ बाइक आर१५ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सुविधासम्पन्न रहेको बताइएको उक्त बाइक कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले सार्वजनिक गरेको हो । कम्पनीले काठमाडौंको भृकुटीमण्डमा गत वैशाख १५ देखि २१ सम्म आयोजित ‘महाएक्सचेञ्ज मेला’को अवसरमा यसलाई सार्वजनिक गरिएको जानकारी दिएको छ ।
सो बाइकमा नेपालमा कारोबार हुने यामाहाका अन्य बाइकको भन्दा उत्कृष्ट प्रविधि र विशेषता रहेको कम्पनीले दाबी गरेको छ । बाइकलाई एम र आर–सिरिजजस्ता रेसिङमा ख्याति कमाएका बाइकको पाँचौं जेनेरेशन भनिएको छ । मूलत: ट्र्याक स्पिड, कर्भ र स्पोटर््स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी उक्त बाइक तयार पारिएको बताइएको छ । नयाँ ग्राफिक, थ्रीडी एम्ब्लेम, वाई–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’ जस्ता विशेषताले यस बाइकलाई आकर्षक, विश्वसनीय, स्मार्ट बनाइएको बताइएको छ ।