काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगमा विद्युत् आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यवसायीसँग छलफल गरेकी छिन् । केही उद्योगमा विद्युत् आपूर्तिमा गडबढी हुनुका कारणबारे मन्त्रालयमा सोमवार उनले नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेकी हुन् ।
सो अवसरमा मन्त्री भुसालले विद्युत् आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै मंगलवारदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन् । ‘विद्युत् आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ,’ उनले भनिन् ।
विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुक्खायाममा समस्या देखिने गरेको मन्त्री भुसालले बताइन् । केही दिन देखिएको समस्यालाई ‘राजनीतीकरण’ नगर्न समेत उनले आग्रह गरिन् । ‘ऊर्जाकै कारण हामीले समस्या भोग्नुपर्दैन, विगतमा ऊर्जा सुरक्षामा ध्यान नदिँदा क्षणिक समस्या आएको हो,’ उनले भनिन्, ‘आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।’
त्यसैगरी मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मुलुकको ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै समाधन हुने भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए । ‘यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ,’ उनले भने । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय विद्युत् आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘अहिलेको समस्या दुई–चार दिनको हो, आत्तिनुपर्दैन, छिट्टै समाधान हुन्छ ।’
छलफलका क्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए । ‘विद्युत् आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुपर्यो,’ उनले भने । त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत् आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा विद्युत्को गुणस्तर सुधार हुने विश्वास समेत उनले व्यक्त गरे ।