वैशाख २१, काठमाडौं । पूर्वी क्षेत्रका उद्योगीहरुले विद्युत् आपूर्ति सूचारु नभएमा आन्दोलन गर्ने चेतावनी दिएको लगत्तै नेपाल विद्युत् प्राधिकरणे त्यस क्षेत्रका उद्योगहरुमा सहज रुपमा विद्युत् आपूर्ति शुरु गरेको छ ।
केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि पूर्वी नेपालका उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो । लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश नं १ उद्योगीहरुले वैशाख २० गतेसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए।
विद्युत् प्राधिकरणले मंगलवारबाट उद्योगहरुमा नियमित विद्युत् आपूर्ति गर्न थालेको हो । योसँगै मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रदेश नं १ले प्रेश विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताएका छन् ।
‘हाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधानको प्रयासस्वरुप निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्राधिकरण प्रतिवद्ध रहेको आश्वासन समेत प्रकट गरेको र मंगलवरादेखि विद्युत् प्रसारण समेत सुचारु भएकोप्रति हामी समस्त उद्योगी व्यवसायीहरु उत्साही भएका छौं । प्राधिकरणको यस कार्यका लागि प्रशंसासहित धन्यवाद ज्ञापन गर्दछौं ।’
उद्योगीहरुले विद्यमान ऊर्जा संकटको अवस्थामा विद्युतको वितरण सबै क्षेत्रलाई न्यायोचित र समान बनाएर सबैको काममा अवरोध नहुने व्यवस्था गर्न पनि माग गरेका छन् ।उर्जामन्त्री भुसालले भने गत सोमवार नै मंगलवारदेखि विद्युत् आपूर्ति सहज हुने बताएकी थिइन् ।
विद्युत् प्राधिकरणले भारतबाट सरकारी स्तरको समझदारीबाट १५० मेगावाट बिजुली ल्याउन लागेको छ । यसबाहेक प्रतिस्पर्धी बजारबाट पनि बिजुली ल्याइरहेकाले अभाव टरेको हो । भारतमा उर्जा संकट भएपछि त्यसको असर नेपालसम्म परेको छ ।