स्याङ्जा । स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य ऊर्जा जडान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा अस्पतालमा सौर्य ऊर्जा जडान गरिएको हो । विद्युत् आपूर्तिमा पटक–पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको ४० लाखको लागतमा सौर्य ऊर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए ।
‘अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युत्सम्बन्धी समस्या अन्त्य गर्दै सहज रूपमा उपचार गर्न सौर्य ऊर्जा जडानमा सहयोग गरेका हौं’, उनले भने, ‘यसले आगामी दिनमा सेवा प्रवाहमा सहजता ल्याउनुका साथै वैकल्पिक ऊर्जाको प्रयोगले कार्बन उत्सर्जनमा समेत नियन्त्रण भई वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।’ अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य ऊर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ को समय आइसोलेसन सेन्टरका रूपमा रहेको यो अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए ।
‘विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न युएनडिपी नेपाललाई सहयोगका लागि अनुरोध गर्यौं’, उनले भने, ‘स्थान हामीले दियौं र युएनडिपी नेपालकै सम्पूर्ण लागतमा १० केभिए क्षमताको सौर्य ऊर्जा जडान भएको हो ।’ अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डायलासिस सेवाका लागि सौर्य ऊर्जाले सहयोग पुग्ने विश्वास नगरप्रमुख खनालको छ । जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यो अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
उक्त अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य उर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा १ सय शय्या रहे पनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ । कोभिड– १९ को समय अस्पताललाई आइसोलेसन सेन्टरको रूपमा प्रयोगमा ल्याइएको थियो । रासस