नेपाली राजनीति परजीवीहरूबाट आक्रान्त छ । द्वैध चरित्रका परजीवीहरूको कारण यतिखेर कोरोना विषाणुले जस्तै राजनीतिलाई गाँजेको छ । यो महामारीबाट जोगिनु पर्ने ज्यादै ठूलो दबाब र चुनौती राजनीतिक नेतृत्वमाथि ऐतिहासिक रूपमा परेको छ । नेतृत्वले परजीवीबाट मुक्त भई निर्णय गर्न सकेमा खोपपछि कोरोनाबाट सुरक्षित भएझैंँ राजनीतिक परिदृश्य सँंगालिनुको साथै उकुच पल्टिएको राजनीतिले निकास पाउनेछ ।
परजीवीहरू दोधारे, स्वार्थी, आत्मकेन्द्रित र अत्यन्तै सङ्कुचित हुन्छन् । परजीवीले कसरी भाँडभैलो मच्चाउन सक्छन् भन्ने थाहा पाउन अन्यत्र जानै पर्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबमोजिम ०७४ सालमा निर्वाचन भयो । सङ्घ, प्रदेश र स्थानीय तहको चुनाव भई दुई तिहाइ बहुमतको पहिलो निर्वाचित गणतान्त्रिक सरकार बन्यो ।