तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय व्यावसायिक बाख्रपालन तर्फ किसानहरुको आकर्षण बढेको छ । गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाका परियोजनाहरुले पशुपालनमा राम्रो अनुदानसहित प्रोत्साहन गर्न थालेपछि कृषकहरुको आकर्षण बढेको हो ।
गत वर्षदेखी देवघाट गाउँपालिकाको समन्वयमा सञ्चालित हेफर इन्टरनेशनल नेपाल तथा समृद्धि नेपाल तनहुँको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा आबद्ध भएका छन् । देवघाटको पाँच वटै वडामा सञ्चालित उक्त परियोजनामा हाल १४ समूहमा ३ सय ५० घरधुरी कृषक आबद्ध छन् । सोही परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा संलग्न भएका हुन् ।
परियोजनाको लक्ष्य प्रत्यक्षरुपमा आबद्ध परिवारहरुको वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको परियोजना संयोजक डा. सम्राट अधिकारीले बताउनु भयो । परियोजनामा आबद्ध महिलाहरुलाई स्वावलम्बी समूहहरु तथा सहकारीमा आबद्ध गरी सामाजिक पुँजीको अभिवृद्धि गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुसरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्नु र संस्थागत संयन्त्र निर्माण गरी सकारात्मक वातावरण सृजना गर्नु रहेको अधिकारीले जानकारी दिनु भयो ।