महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुर र उदयदेव बहुउश्द्देयीय सहकारीको सहकार्यमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
केन्द्रको हालै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घघाटन गरे । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा बीउ वितरण गर्दै आएको छ,’ उनले भने, ‘उत्पादनका लागि बीउ नै प्रमुख वस्तु हो, प्रशोधन केन्द्र निर्माण भइसकेपछि स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन हुन्छ, यसले कृषि विकासमा सहयोग पुग्छ ।’
कृषिमा आत्मनिर्भर बन्न व्यावसायिकीकरणमा जोड दिनुपर्ने र जग्गा खण्डीकरण रोक्नुपर्ने उनको सुझाव छ । त्यस्तै भूमि बैंक र भू–उपयोग नीतिको समेत आवश्यकता रहेको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले कृषिको विकासका लागि बीउ प्रशोधन केन्द्र अत्यावश्यक रहेको बताइन् । जिल्लामा चारओटा बीउ प्रशोधन केन्द्र निर्माण भएको भन्दै परियोजना कार्यालय प्रमुख रिमालले उन्नत बीउ उत्पादन गर्न सके यस क्षेत्रको कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिन् ।
कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणका लागि केन्द्रको निर्माण गरिएको उदयदेव बहुउश्द्देयीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले बताए । उनका अनुसार ८१ लाख ४३ हजार लागतमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रमा सहकारीको ४३ लाख १० हजार र परियोजनाको ३८ लाख ३२ हजार रुपैयाँ लगानी साझेदारी रहेको छ ।
केन्द्रमा सीड ग्रेडर, सीड ट्रिटर, एलिभेटर, बोरा सिउने मेशिन, बीउ स्याम्पलर, जोख्ने मेशिन, काठको फ्ल्याक लगायत सामग्री राखिएको छ भने कार्यालय भवन पनि छुट्टै निर्माण गरिएको छ ।
सहकारीले गतवर्षदेखि कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएर ८०० भन्दा बढी किसानलाई सेवा दिएको कार्यकारी अधिकृत चन्दको भनाइ छ । अब कृषि यन्त्र थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनका अनुसार सहकारी शेयर सदस्यलाई उत्पादन र कृषिसँग जोड्दै आत्मनिर्भर बनाउने नीति लिइएको छ ।
सहकारीका अध्यक्ष पूर्णबहादुर चन्दले प्रशोधन केन्द्रबाट गुणस्तरीय बीउ उत्पादन गरिने बताए । जमीन लिजमा लिएर भए पनि ठूलो क्षेत्रफलमा एकै किसिमले बाली लगाउन सके बीउ उत्पादनमा सहज हुने उनको भनाइ छ ।