कात्तिक ९, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ्ग समूहको मंगलवार रू. १ अर्ब ३७ करोड २८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।
१६ हजार १४ पटकको व्यापारमा यो दिन बैंकिङ्ग समूहको २५ लाख १९ हजार २११ कित्ता शेयर खरीदविक्री भएको हो । कुल कारोबारमा मंगलवार वाणिज्य बैंकको हिस्सा २१ दशमलव ७३ प्रतिशत रहेको छ । बजारमा सर्वाधिक पूँजीकरणको हिस्सा ओगटेको बैंकिङ समूहमा भने बजारले ३ हजार २०० विन्दु पार गर्दा समेत उत्साह देखिएको छैन।
यतिबेला धेरै जसो बैंकहरुले लाभांश सार्वजनिक गरिसक्दा पनि कारोबारमा भने उत्साहक अन्य समूहको तुलनामा कमनै देखिएको छ । मंगलवार कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहले ओगटेको छ । जलविद्युत समूहको यस दिन रू. १ अर्ब ६० करोड ४८ लाख ६ हजार बराबरको ३३ लाख ३६ हजार ४३५ कित्ता शेयर कारोबार भएको छ ।
यो दिन कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा २५ दशमलव ४० प्रतिशत रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये २६ ओटा वाणिज्य बैंकहरु रहेका छन् भने ४१ जलविद्युत् कम्पनीहरु रहेका छन् ।
पछिल्लो समय जलविद्युत् समूहका कम्पनीहरु धितोपत्र दोस्रो बजारमा थपिने क्रम जारी रहेको छ । कम पूँजी भएका जलविद्युत् कम्पनीहरुको शेयरप्रति बजारले गति लिन थालेसँगै लगानीकर्ताहरुको आकर्षण बढ्ने थालेको हो ।
विगतका दिनहरुमा अंकितमूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य हाल रू. ५०० को हाराहारीमा पुगेको छ । मंगलवार मात्र उच्च दरमा शेयरमूल्य बढ्ने २० कम्पनीहरुमध्ये १७ ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् ।