‘कर्मचारीको तलब र आवश्यक काम अघि बढाउन सरकारले कन्जुस्याँइ गर्नु हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्य व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरबको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभएको हो । […]

सम्बन्धित सामग्री

महानगर र निर्माण व्यवसायीको विवादले भेडाहा तटबन्ध अलपत्र

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका र निर्माण व्यवसायीबीचको विवादका कारण वीरगञ्जमा नदी तटबन्धको काम रोकिएको छ । वीरगञ्जको भेडाहा खोलामा तटबन्धको काम अलपत्र परेको हो । महानगरले ७ महीनादेखि भुक्तानी अड्काएको भन्दै निर्माण कम्पनीले काम रोकेको छ । एक वर्षमा पूरा गर्ने शर्तमा ठेक्का लिएको निर्माण कम्पनीले निर्धारित समय सीमाभित्र करीब २० प्रतिशत मात्र काम सकेको छ । निर्माण कम्पनीले समयमा काम नगरेकाले भुक्तानी रोकिएको महानगरका अधिकारीले बताएका छन् । गत असार २० गते नै पूरा हुनुपर्ने तटबन्धको काम अहिले अवरुद्ध भएको छ । महानगर र रमण विकास एण्ड ब्रदर्स जेभीबीच २०७९ भदौ २ गते तटबन्ध निर्माणका लागि सम्झौता भएको थियो ।  समयसीमाभित्र काम नसकिने स्थितिमा ३ महीनाअगावै म्याद थप्ने वा नथप्ने विषय टुंग्याउनुपर्नेमा महानगर यसमा उदासीन छ । गत असारमै सकिनुपर्ने तटबन्धको ६ महीना बितिसक्दा म्याद पनि थपिएको छैन । निर्माण कम्पनीले ४ करोड रुपैयाँ मोबिलाइजेसन रकम लगिसकेकाले सो रकमबराबरको काम सकेपछि मात्र भुक्तानी दिने अडान महानगरपालिकाले राखेपछि काम रोकिएको हो । महानगरको यस्तो शर्तमा काम अघि बढ्न नसक्ने निर्माण व्यवसायीले बताएपछि महानगरले मंगलवार नगर प्रहरी खटाएर तटबन्धका लागि राखिएका उपकरण कब्जामा लिन खोजेको आरोप निर्माण व्यवसायीले लगाएका छन् । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगर प्रहरी खटिएका थिए । महानगरले जबर्जस्ती गर्न खोजे पनि आफूहरूले प्रतिवाद गरेपछि महानगर पछि हटेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि सुशील ठाकुरले बताए ।  निर्माण कम्पनीले काममा लगाएका अन्य व्यवसायीको भुक्तानी बाँकी राखेकोबारे विवाद भएपछि त्यसको समाधानका लागि उपकरण महानगरमा ल्याउन खोजिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।  कुल २४ करोड ६३ लाख ५ हजार ५४७ रुपैयाँको ठेक्कामा तेस्रो र चौथो बिलको साढे २ करोड रुपैयाँ भुक्तानी महानगरले रोकेर राखेको प्रतिनिधि ठाकुरले बताए । महानगरले भुक्तानी नदिएपछि काम अघि बढाउन नसकिएको उनले बताए ।  ‘ठेक्काको ३० प्रतिशत काम भइसकेपछि प्रत्येक बिलमा २० प्रतिशतका दरले मोबिलाइजेशनको रकम समायोजन गर्ने व्यवस्था शर्तमा स्पष्ट लेखिएको छ । तर, महानगरले भुक्तानी रोकेर बलमिच्याइँ गरिरहेको छ,’ उनले भने ।  ठेक्का सम्झौतामा मोबिलाइजेशन काट्ने शर्त भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्वीकार गरे । तर, तोकिएको समयमा काम पूरा नगर्ने र महानगरलाई अप्ठ्यारो पार्ने काम भएकाले भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । ‘काम अघि नबढाउने र सम्झौताको शर्त देखाएर महानगरलाई अप्ठेरोमा पार्ने नियत देखियो । यसमा त महानगरले सेफ साइड खोज्ने नै भयो,’ उनले भने । बिल पेश भएको १ महीनाभित्र आयोजना व्यवस्थापकले भुक्तानीको सिफारिस गर्ने र अर्को एक महीनाभित्रै भुक्तानी दिनुपर्ने शर्त ठेक्का सम्झौतामा छ । आयोजना व्यवस्थापकले गत असार २४ गते तेस्रोे बिलको ४९ लाख ३० हजार भुक्तानीको सिफारिश गरेका छन् । भदौ २१ गते २ करोड रुपैयाँको चौथो बिल पेश भएको कागजातमा देखिन्छ । महानगरले चालू आर्थिक वर्षमा आर्थिक समस्या झेलिरहेको र त्यसको प्रभाव अत्यावश्यक भुक्तानीमा देखिएको महानगरका कर्मचारीहरू बताउँछन् । महानगरले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेर करीब १ वर्षजति काममा लगाएको थियो । ७०० भन्दा बढी यस्ता कर्मचारीको तलब सुविधामा मात्रै महानगरलाई करीब १६ करोड रुपैयाँ आर्थिक भार थपिएको थियो । कर्मचारी भर्नामा अख्तियारले चासो राखेपछि महानगरले ती कर्मचारीलाई हटाएको थियो । महानगरले गत पुस ३ गते करारका डेढ सय शिक्षकलाई पनि हटाएको छ । तर, लेखा प्रमुख रामकुमार कुशवाह महानगरको आर्थिक समस्याका कारण निर्माण व्यवसायीको भुक्तानीमा अप्ठेरो नभएको दाबी गर्दछन् । ‘निर्माण व्यवसायीको पैसा दिन समस्या छैन । उहाँहरूले ४ करोड रुपैयाँ मोबिलाइजेशन त लगिसक्नुभएको छ । काम भए भुक्तानी दिन कुनै अप्ठेरो छैन,’ कुशवाहले भने ।