विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वलाई फेरि ओमिक्रोन भेरियन्टले थप सन्त्रस्त बनाएको छ । पछिल्लोपटक देखिएको ओमिक्रोन नामकको भेरियन्टका कारण बेलायत, नेदरल्यान्ड्सजस्ता यूरोपेली मुलुकहरूमा आपतकाल मात्र होइन, बन्दाबन्दीको घोषणा नै भइसकेको छ । यसका कारण उनीहरूको महान् पर्व क्रिसमस पनि प्रभावित भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्न हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिस प्रभावित भएका छन् ।
दिनप्रतिदिन नयाँ प्रकारका भेरियन्ट देखा परेका कारण सिङ्गो विश्व नै तनावग्रस्त बन्न पुगेको हो । यसले विश्वभरि नै लाखौंको ज्यान लिइसकेको छ । भविष्यमा कुन प्रकारको भेरियन्ट देखा पर्ने हो थप त्रास र चिन्ता बढेको छ । त्यसैले आजको आवश्यकता नै खोपजस्तो निरोधात्मक उपायमा पहुँच बढाएर कोभिडको जोखिमबाट मुक्त गराउनु नै हो । कोभिड भाइरसयुक्त जनसंख्याको जति धेरै प्रसार भयो त्यति नै नयाँ भेरियन्टहरू देखिने हुँदा त्यसबाट थप चुनौती आउने र उपलब्ध खोपले काम नगर्ने अवस्था सिर्जना हुने हुँदा कोभिडको खोपलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा कोरोना भाइरस म्युटेशन भएर त्यसका विभिन्न प्रकारका भेरियन्टहरू देखिएका छन् । त्यसरी म्युटेट भएर आएका त्यस्ता भाइरस अघिल्ला भेरियन्टभन्दा बढी संक्रामक हुने अध्ययनले समेत देखाएको छ । त्यसको नियन्त्रणका लागि खोप जतिसक्दो चाँडो बढीभन्दा बढी जनसंख्यामा उपलब्ध गराउनुपर्छ । यो नै सरकारको प्रमुख दायित्व हो ।
सङ्घीय सरकारको योजनाअनुसार यही पुस मसान्तसम्म कुल जनसंख्याको दुईतिहाइ अर्थात् ६६ प्रतिशतलाई खोप लगाइसकिनेछ भने यसै वर्षको अन्त्यसम्म चैतभरिमा सबै नागरिकलाई खोप मात्रा पूरा गरेर ‘बुस्टर खोप’ समेत लगाउने कार्ययोजना सरकारको छ । यसैगरी सरकारले १२ देखि १८ वर्षमुनिका उमेरसमूहका लागि समेत खोप अभियान शुरू गरिसकेको छ । विद्यार्थीका लागि सम्बद्ध विद्यालयमा नै खोप दिइने तयारी भइरहेको छ । त्यसैले विद्यालयले जन्मदर्ताका आधारमा विद्यार्थीको लगत संकलन गरिरहेका छन् ।
यसैगरी देशमा विद्यालय तहदेखि विश्वविद्यालय तहका सबै विद्यार्थी र शिक्षकलाई खोप व्यवस्थापन गर्न नसक्दा यो शैक्षिक वर्ष पनि प्रभावित हुने देखिएको छ । त्यसैले सरकारले अविलम्ब शैक्षिक क्षेत्रलाई चलायमान बनाउन खोपको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जसका कारण विभिन्न तहगत परीक्षा गर्न सकिएको छैन भने आवश्यक जनशक्ति पनि पूर्ति गर्न सकिएको छैन । प्राथमिकताका क्षेत्रमा परेका जनसंख्यालाई खोप उपलब्ध गरी सबै नागरिकलाई खोप उपलब्ध गराउनु नै राज्यको दायित्व मानिन्छ ।
सरकारले हालसम्म खोप खरीद तथा अन्य व्यवस्थापन गर्न करीब ३३ अर्ब ५० करोड रुपैयाँ खर्च गरिसकेको छ भने नेपाल सरकारको कोभिड कोषमा करीब ३५ अर्ब रुपैयाँ मौज्दात रहेको देखिन्छ । पक्कै पनि यस रकमबाट आगामी दिनमा थप खोपको व्यवस्थापन गर्न सहज हुने देखिन्छ । सरकारले जनतालाई कोभिडविरुद्धको खोपमा कुनै कमी आउने दिने छैन । राज्यका सबै निकायले उपलब्ध खोपलाई जनतासमक्ष समयमै उपलब्ध गराउन पहल गर्नुपर्छ ।
सरकारी तथ्यांकअनुसार हालसम्म १८ वर्षभन्दा माथिका उमेरसमूहका ६० प्रतिशतलाई एक मात्रा र ४५ प्रतिशतलाई दुई मात्रा खोप लगाइसकिएको छ । त्यस्तै, ठूलोमात्रामा जनसंख्यालाई खोप पुर्याउन बाँकी नै छ । सरकार खोप पुर्याउन प्रयासरत छ । कोभिडका यस्ता नयाँ भेरियन्टबाट नागरिकलाई बचाउन खोपबाहेक अन्य कुनै विकल्प छैन । त्यसैले सर्बसाधारण सबैलाई खोप सुनिश्चित गरेमा मात्र सरकारको जिम्मेवारी पूरा भएको ठहरिन्छ ।
यसअघि कोरोना खोप लगाउन प्रवाह गरिने सूचना स्पष्ट नभएका कारण पनि खोपका लागि झन्झट भोग्नुपरेको सर्वसाधारणको गुनासो छ । खोप लगाउन कतिलाई निकै कठिन भएको पनि गुनासो सुन्न आएको छ । सरकारको प्राथमिकता क्षेत्रबाहेकका केही व्यक्तिले व्यक्तिगत पहुँचका नभएका कारण पनि कोरोनाको खोप प्राप्त गर्न नसकिएको गुनासो सुन्नमा आएको छ । राज्यले निःशुल्क रूपमा उपलब्ध गराएको कोरोना खोपमा पनि बढी चलखेल भएको गुनासो आएका कारण आगामी दिनमा त्यस्तो वातावरण दोहोरिन दिनु हुँदैन । खोपमा पनि आफ्नालाई प्राथमिकता दिएको र अन्यलाई विभेद गरिएको गुनासो उठ्नु राम्रो होइन । त्यस्तै, खोप केन्द्रमा खोप लगाउन घण्टौं बस्नुपर्ने तथा बाक्लो भीडका कारण झन् संक्रमण फैलने हुँदा खोप लगाउँदा सामाजिक दूरी कायम गर्नुपर्ने पनि देखिन्छ । कोरोनाका नयाँ भेरियन्टको संक्रमणबाट बच्न सामाजिक सुरक्षा अपनाएर स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ । १२ देखि १६ वर्ष उमेरका विद्यार्थीलाई सम्बद्ध विद्यालयमा नै खोप उपलब्ध गराउने सरकारको निर्णयलाई स्वागत गर्नैपर्छ । प्रत्येक विद्यालयका विद्यार्थीको लगत हेरेर जन्मदर्ताका आधारमा खोप वितरण गर्ने हो भने त्यो बढीभन्दा बढी प्रभावकारी देखिन्छ ।
समग्रमा भन्नुपर्दा अबको एकमात्र आवश्यकता नै सबैलाई खोपको व्यवस्था गर्नु नै हो । १ वर्षअघि खोप विकास भई प्रयोगमा आएपछि मानव समाजले कोभिडविरुद्ध केही आत्मविश्वास बढेको हो । अपवादबाहेक खोप लगाएका व्यक्तिहरू तुलनात्मक रूपमा यो संक्रमणबाट बच्न सफल भएका छन् । साथै विश्वव्यापी रूपमा नै संक्रमितको मृत्युदरमा पनि क्रमशः कमी आइरहेको छ भने यसबाट मर्नेहरूको मृत्युदर पनि कम हुँदै गएको देखिन्छ ।
अर्याल ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा अध्यापन गर्छन् ।