ऐतिहासिक धरहराको पुनर्निर्माण अन्तिम चरणमा(फोटो फिचर)

वैशाख ४, काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।   विसं २०७२ सालको भूकम्पबाट  ९ तले धरहरा पूर्णरूपमा भत्किएपछि साविकको स्थानबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिएको हो । गजुरसहित नयाँ धरहराको उचाई करीब ७७ मिटरको हुनेछ ।   भूईंतलासहित  २५ तले नयाँ धरहराको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएको थियो । धरहरा नेपालको एतिहासिक सम्पदा मात्र नभई गौरव र सम्पत्ति पनि हो  ।  धरहराको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउने उद्धेष्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण द्रूत गतिमा पुनर्निर्माण गरिरहेको छ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ ।नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको प्राधिकरणले बताएको छ । धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले विसं २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नु भएको थियो । तस्वीरहरु : रासस तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

सम्बन्धित सामग्री

म्याग्दीको बेगखोलामा मोटरेबल पुल निर्माण शुरू

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगंघा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्प्यान भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘२०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो । पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुंगे पुल निर्माण शुरू गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुंगे पुल पुनर्निर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माण गरेको छ । २०७४ फागुनमा १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले महभीरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।      गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा मोटरेबल पुल निर्माण सकिएको छ । १८६ किलोमिटर दूरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत थप एउटा निर्माणको अन्तिम चरण र १२ ओटा निर्माणाधीन छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए । रासस