यो आँप पाक्ने मौसम हो । यो मौसमले मलाई मेरो गाउँले बाल्यकालतिरको स्मृतितिर लैजान्छ । हाम्रो गाउँ सप्तरीको दक्षिणी भेगमा छ । गाउँमा हाम्रो आँपको ठूलो बगैंचा थियो, हामी फूलबारी भन्थ्यौँ । गर्मीमा टोलभरिका बच्चाहरू दिनैभरि फूलबारीमा विभिन्न खेल खेल्थ्यौं । हाम्रो मन पर्ने खेल– कनियाँ पुतरा । एक जना बेहुली बन्ने, अर्को बेहुला । एक जना आमा र अर्को बुवा । अर्थात् हामी घर–परिवार र समाजमा जे देख्थ्यौँ, त्यही नक्कल गर्थ्यौंँ । बेहुली बन्न आमाको साडी चोरेर ल्याउँदा कुटाइ पनि खान्थ्यौँ ।