पठनपाठन संसारमै सबैभन्दा महत्त्वपूर्ण कार्य हो । शिक्षाविना संसारमा कोही पनि मानिस ठूलो वा राम्रो मान्छे हुन सकेको छैन । शिक्षकविना औपचारिक शिक्षा सम्भव छैन । शिक्षक वा गुरु जीवनमा धेरै प्रकारका हुन सक्छन् । गुरु भन्नेबित्तिकै एकप्रकारको आकृति परिकल्पना गरिसकेका हुन्छाँै । दत्तात्रयले विभिन्न व्यक्तिलाई गुरु मानेका छन् । उनकाअनुसार गुरू त्यो व्यक्ति जसबाट ज्ञान लिन सकिन्छ । कसैले कुनै प्रकारले कुनै ज्ञान, विवेक, अनुभव प्रदान गर्छ भने त्यो व्यक्ति हाम्रो गुरु हो । चाहे त्यो जुन जात, धर्म, वर्ण, लिङ्ग, पेसा आदिले विविधताभित्र पर्ने व्यक्ति किन नहोस् । वरिपरि विद्यार्थी राखेर उनीहरूलाई तनाव दिँदै पढाइको नाममा व्यापार गर्ने भेषधारीमात्र गुरु भनेर चिनिने हाम्रो समाजमा जात, वर्ण, धर्म, लिङ्ग आदिका कारणले पुरातन गुरुको वर्गीकरण गरिने जमानामा पनि दत्तात्रयले विभिन्न किसिमका व्यक्तिलाई गुरु मानेका छन् ।