आयोजना प्रभावित स्थानीयमा चिरख्वा हाइड्रोपावरको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि  निष्कासन गरेको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज  अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ १० गतेसम्म आईपीओ निष्कासन गरेकोे थियो । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गरेको हो । स्थानीयमा भने भदौ १० गतेसम्म माग बमोजिम आवेदन नपरेपछि भदौ २५ गतेसम्मको मिति तय गरेको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा निष्कासन

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलवार)देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको हो ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिशेयर एक सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्रीमा आएको हो । यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।