काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलवार)देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।
आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको हो ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिशेयर एक सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्रीमा आएको हो ।
यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।
यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।