‘प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ जनकपुरधाम’

जनकपुरधाम। जनकपुरधामलाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन निजीक्षेत्रले सरकारसँग माग गरेको छ । जनकपुरधाममा बुधवार नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सहकार्य र न्यू बिजनेश एज प्रालिको समन्वयमा आयोजित ‘धनुषाको अर्थ–सामाजिक रूपान्तरण’ विषयक अन्तरसंवादमा वक्ताहरूले जनकपुरलाई पर्यटकीय नगर बनाउन माग गरेका हुन् ।  संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपाल–भारत सीमा नाकामा राम्रो र सहज वातावरण बनाइदिए पर्यटन प्रवर्द्धन हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रको प्रवर्द्धन गरिदिएको भए खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ थियो । न्यू बिजनेश एज प्रालिका अध्यक्ष एवम् प्रधान सम्पादक मदन लम्सालले मधेश प्रदेश आर्थिक सम्भाव्यतामा अगाडि भए पनि अवसरको उपयोग हुन नपाएको बताए । मधेशका अवसरको उपयोग हुन सके यसले देशकै अर्थतन्त्रको उत्थानमा सहयोग पुग्ने पनि लम्सालको भनाइ थियो । जनकपुरधामलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरेर स्थानीय अर्थतन्त्र चलायमान गर्न सकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताएका छन् । प्रमुख धार्मिक, आर्थिक तथा व्यावसायिक क्षेत्र समेत रहेको जनकपुरधाममा एउटा अन्तरराष्ट्रिय विमानस्थल नहुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।  धनुषाबाट विदेश गएका युवाले वर्षेनि करोडौं विप्रेषण पठाउने गरे पनि स्थानीय स्तरमै रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह (हिरा)ले धनुषाको लोहनामा मुस्लिम धर्म गुरु शेरे नेपालको मजार र महोत्तरीको रौजा मजारलाई मुस्लिम धर्मावलम्बीको धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । यसबाट मुस्लिम पर्यटकको आगमन बढ्ने अपेक्षा उनले गरे । जनकपुरमा रहेको जानकी मन्दिर र धार्मिक स्थानहरूलाई राज्यले सधैं बेवास्ता गर्दै आएको उनको आरोप थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरीले धनुषाको जनकपुर–जटही ६ लेन सडक भारतको विहार राज्यको मधुबनी जिल्लासँग जोड्नुपर्ने खाँचो औंल्याए । जटही नाकाबाट कोलकाता बन्दरगाहसम्म पुग्न नेपालका अन्य नाकाबाट भन्दा १५० किलोमिटर कम पर्ने उनले बताए ।

सम्बन्धित सामग्री

ठाकुर गैरेको संकल्प : ‘सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु’

बुटवल – नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन्। पाल्पा- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन्। उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए। […]

दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।