वैशाख १८, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २० प्रतिशत वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९१ लाख ७० हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकाले र रू.४१ लाख ९१ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख रहेको छ । गत आवमा कम्पनीको जगेडा कोष रू. ६८ लाख ५६ हजार ऋणात्मक रहेकोमा चालू आवमा सुधारिएर रू. २ करोड ८८ लाख धनात्मक भएको छ ।
चालू आवमा कम्पनीले रू. ४४ करोड ६६ लाख सापटि लिएर, रू.१६ करोड ३८ लाख निक्षेप संकलन गरेर रू. ६६ करोड ४५ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव १० प्रतिशत रहेकोमा चालू आवमा १ दशमलव २८ कायम भएको छ।