प्यूठान नगरपालिका–७ पुण्यखोला गेग्राकी सीता थापा एक सातादेखि पानी अभावले चिन्तित छन् । पानीको मुहान पहिरोले पुरेपछि उनलाई समस्या भएको हो । घरमा आउने धाराको मुहान पुरिएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको उनले बताइन् । मुहान रहेको स्थान पत्ता नलाग्ने गरी गेग्रानले पुरेको उनले बताइन् । ‘गाउँमा अहिले पिउने पानीको चर्को समस्या छ,’ उनले भनिन्, ‘पहिले प्रयोग गर्दै आएको मूल अब भेटिन्छ जस्तो लाग्दैन ।’