नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को ७५ हजार कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ७४३ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम बाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले फागुन २ गतेपछि कोषद्वारा प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कोषले दिएको छ ।  

सम्बन्धित सामग्री