सन् २०३३ सम्ममा ३९ प्रतिशत घरायसी काम रोबोटले सम्हाल्ने : अध्ययन

 बेलायत र जापानका अनुसन्धाताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ६५ जना विज्ञलाई आगामी १० वर्षमा घरायसी काममा अटोमेसन (स्वचालन) को हिस्सेदारी कति हुन सक्छ भनेर सोधेका थिए । एआईविद्हरूले सबैभन्दा बढी अटोमेसन किराना किनमेलमा...

सम्बन्धित सामग्री

स्वदेशमा किन बस्न चाहँदैनन् युवा ?

काठमाडौं । तीन दिनअघि कोरिया रोजगारीमा जाने विषयलाई लिएर भएको झडपमा दुई युवाले ज्यान गुमाए । शिप बिल्डिङमा भाषा परीक्षा दिएकाले म्यानुफ्याक्चरिङ सेक्टरमा पनि सहभागी गराउनुपर्ने माग गरेका थिए । यसबाट युवायुवतीको चाहना जे जसरी भए पनि वैदेशिक रोजगारीमा जाने देखिन्छ । त्यसो त कोरियाबाहेक अन्य मुलुकमा पनि रोजगारीमा जान खोज्ने युवायुवतीको संख्या बढ्दो छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुग्दा विदेश पस्नेको संख्या निकै बढेको पाइन्छ । मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपछि समग्र आर्थिक अवस्था सुधार हुने मात्र नभई हरेक युवायुवतीले रोजगारी पाउँछन् भन्ने राजनीतिक दलहरू पालैपालो सत्तामा पुगेको बेला यसरी देश छाड्नेहरूको संख्या बढेपछि यसको कारण के हो ? खोजी गर्नुपर्ने देखिएको छ । त्यसो त वैदेशिक रोजगारीमा जानु नराम्रो होइन तर महत्त्वपूर्ण कुरा किन अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारी भयो भन्ने हो । विकासविद्हरूले नेपालबाट ठूलो संख्यामा युवायुवती विदेश पलायन भएको भन्दै स्वदेशमै काम गर्न सक्ने वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।  आर्थिक वर्ष (आव) २०७९/८० मा श्रमस्वीकृति लिएर हालसम्मकै सबभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार त्यस वर्ष नयाँ र नवीकरणसहित ७ लाख ७१ हजार युवायुवती श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गए । त्यस्तै अध्ययनका लागि १ लाख १० हजार बढीले वैदेशिक अध्ययन अनुमतिपत्र लिए । यो क्रम अझै रोकिएको छैन । गत मङ्सिरमा मात्र वैदेशिक रोजगारीमा जान विभागबाट ७१ हजार २७६ ले श्रमस्वीकृति लिएका छन् । विकासविद्हरू अहिलेकै अवस्था कायम रहने हो भने केही वर्षमै देश युवाविहीन हुने आशंका गर्छन् ।  ‘देश विकास गर्न युवाशक्ति भएन भनेर रोइकराई गर्नुको साटो उचित पारिश्रमिकसहित कामको ग्यारेन्टी दिलाउने हो भने कैयौं युवा विदेश जान रोकिन्छन्,’ त्रिभुवन विश्वविद्यालयका अध्यापक बालकृष्ण शर्माले भने, ‘ओहोदामा बस्नेले केबल भाषण गर्ने, रोजगारीका अवसर सृजनामा पहल नगर्दा युवा पुस्ताले स्वदेशमा अवसर देखिरहेको छैन ।’ स्वदेशमा रोजगारीका अवसर सृजना गर्न उद्योगधन्दा र निजीक्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ । विदेश पस्नेको संख्या बढेपछि देशको उत्पादनमूलक क्षेत्रको काम कसले गर्छ भन्ने चिन्ता गर्न थालिएको छ ।  स्वदेशमै पर्याप्त रोजगारी  त्रिपुरेश्वरको एक रेस्टुराँले सात जना कर्मचारी मागेको १ महीनाभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म त्यो रेस्टुराँले आवश्यकताअनुसार कूक, वेटर, हेल्परजस्ता कर्मचारी फेला पार्न सकेको छैन । ‘राम्रा कर्मचारी फेला पार्न सके बिहान ८ देखि दिउँसो ४ बजेसम्म काम गरेबापत खाना खुवाएरै मासिक १५/१६ हजार रुपैयाँ पारिश्रमिक दिन खोजेका छौं,’ रेस्टुराँ सञ्चालक टीकाश्वरी जोशी भन्छिन् ।  त्यस्तै मोरङ, भौडा निवासी रमेश खतिवडाले राम्रो अनाज उत्पादन हुने जमीनका लागि कृषि मजदूर खोजेको महीनौं भइसक्यो । केही वर्षअघिदेखि काम गर्दै आएका व्यक्तिले अबदेखि खेती नगर्ने बताएपछि खतिवडाले कृषि मजदूर खोजिरहेका हुन् । खेतीपातीका लागि आवश्यक पर्ने मल, बीउ, पानी जस्ता सुविधा उपलब्ध गराउने शर्तमा कामदार खोज्दा पनि नपाएपछि हैरान भइसकेको उनले बताए । गाउँघरमै बसेर कृषिक्षेत्रमा काम गर्ने मजदूर फेला पार्न नसके पनि सोही काम गर्न कोरिया जाने युवायुवतीको भीड देख्दा उनलाई अचम्म लाग्छ । नेपालको तुलनामा विदेशमा गरिने कृषि र अन्य श्रममा निकै जोखिम हुँदाहुँदै पछिल्लो समय अनावश्यक रूपमा विदेश मोह बढेको उनको भनाइ छ । खतिवडा नेपालमा रोजगारी पाइएन भन्दै वैदेशिक रोजगारीमा जानु परेको गुनासो गर्नेको तर्कलाई सही मान्दैनन् । ‘अहिले नै सञ्चालनमा रहेका उद्योगधन्दा र कृषिक्षेत्रका लागि श्रमिकको अभाव भइसकेको छ,’ उनी भन्छन्, ‘धेरैले लगानी गर्न नपाएर घरजग्गा खरीद गर्न खपत गरिरहेको रकम उत्पादनमूलक क्षेत्र तथा उद्योग, कलकारखानामा लगाउने हो भने श्रमबजार विस्तार हुन्छ ।’  सरकारले युवालाई स्वदेशकै कामप्रति मोह जगाउन विशेष योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको उद्योगी, व्यवसायी बताउँछन् । काठमाडौं, कालिकास्थानका भावुकजंग थापाले ६ महीनाअघि जन्मेको छोराको रेखदेख र घरायसी काम गर्न घरेलु कामदार खोजेको ३ महीनाभन्दा बढी भइसक्यो । घरेलु कामदारका लागि उनले नाम चलेका अखबारदेखि एफएम रेडियोसम्ममा विज्ञापन गरे । तर, अहिलेसम्म घरेलु कामदार फेला पार्नु त कता हो कता उक्त विज्ञापनबारे चासो राख्ने व्यक्तिसमेत फेला नपरेको उनले बताए । ‘बिहान र बेलुका दुई/दुई घण्टा काम गरेबापत मासिक १३ हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव गर्दा पनि खोजेको घरेलु कामदार महिला फेला पार्न सकेको छैन,’ उनले भने, ‘युवायुवती रोजगारी पाइएन भनेर सडकमा चर्को कुरा गर्छन् । तर, कामको अवसर दिँदा बेरोजगार भएको गुनासो गर्नेले पनि चासो नदिने रहेछन् ।’  सोही काम गर्न कैयौं महिला खाडी मुलुकमा पुगिरहेको र त्यहाँ विभिन्न समस्यामा परेका खबर सुन्दा आफूलाई अचम्म लाग्ने गरेको थापाको भनाइ छ । स्वदेशमै रोजगारीका अवसर हुँदा समेत युवायुवतीको विदेश मोह नघट्दा अब सरकारले युवालाई स्वदेशकै कामप्रति मोह जगाउन विशेष योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको उद्योगी, व्यवसायी बताउँछन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघका एक पदाधिकारीले अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारी हुँदा नेपालमा उद्योग, व्यवसाय चलाउन गाह्रो परिरहेको गुनासो पोखे ।  उनले विदेश मोहले स्वास्थ्य संस्थामा काम गर्ने डाक्टर, नर्सको समेत अभाव भइरहेको बताए । ‘अब पनि राज्य वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको अंक गणितमा रमाउने हो भने नेपालमा वृद्धवृद्धा र बालबालिका मात्र हुनेछन्,’ उनले भने, ‘त्यसैले राज्यले युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन आवश्यक भइसकेको छ । ता कि भविष्यमा भोग्नुपर्ने जनशक्ति अभावलाई व्यवस्थापन गर्न सकियोस् ।’ विज्ञहरू काठमाडौंमा मात्र ३० देखि ५० हजार महिलाले घरेलु कामदारका रूपमा काम पाउन सक्ने सम्भावना रहेको बताउँछन् । घरेलु कामदारबाहेक स्वदेशमा सिकर्मी, डकर्मीदेखि प्लम्बरसम्मको अभाव हुने गरेको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयका पूर्वउपमहानिर्देशक रुद्र सुवालका अनुसार पर्यटन, यातायात र व्यापारको क्षेत्रमा प्रशस्तै रोजगारीको सम्भावना छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका कर्मचारी नेपालमा कति श्रमिक खपत हुन्छन् भन्नेबारे गहन अध्ययन नभए पनि नेपालको श्रमबजारमा वर्षमा सरदर साढे २ लाख जनशक्ति खपत हुने बताउँछन् । हरेक वर्ष श्रमबजारमा प्रवेश गर्ने युवाशक्तिमध्ये ठूलो संख्या वैदेशिक रोजगारीमा जाँदा खेतीयोग्य जमीन बाँझो हुन थालिसकेको छ भने तराईका सीमावर्ती गाउँको कृषि कर्म भारतीय मजदूरको भरमा चलिरहेको छ, ।  यतिखेर औद्योगिक क्षेत्रका लागि मात्र १ लाखदेखि सवा लाख श्रमिकको आवश्यकता रहेको उद्यमी बताउँछन् । पछिल्लो समय श्रमिक केन्द्रित उद्योगमा कामदारको अभाव बढ्दै गइरहेको उनीहरूको भनाइ छ । पर्यटन, कृषि, यातायात, व्यापारलगायत क्षेत्रमा श्रमिकको अभाव बढ्दै गएको धेरैले अनुभव गरे पनि नेपालमा अहिलेसम्म गहन अध्ययन नभएका कारण यकीन संख्या भेट्न भने मुश्किल छ । राष्ट्रिय तथ्यांक कार्यालय वर्षमा करीब साढे ४ लाख युवाशक्ति श्रम बजारमा प्रवेश गर्ने बताउँछ । तर, वैदेशिक रोजगारीमा जानेको संख्या त्योभन्दा बढी हुने गरेको छ । श्रमस्वीकृति लिनेमध्ये करीब ९५ प्रतिशत खाडी मुलुक र मलेशिया जाने गर्छन् ।  वैदेशिक रोजगारीको मोह बढ्दै जानुको मुख्य कारण सरकारले देशमा उद्यमशीलताको वातावरण बनाउन नसक्नुलाई धेरैले लिएका छन् । कोरिया रोजगारीमा जान खोजिरहेका चितवनका केशव कार्कीले स्वदेशमा जुनसुकै काम गर्न खोजे पनि सरकारी निकायबाट सहयोगभन्दा बढी असहयोग हुने गरेको गुनासो गरे । ‘म पनि स्वदेशमै केही गर्छु भनेर कैयौं वर्ष खेतीपातीमा लागें,’ उनले भने, ‘तर, मैले कहिल्यै पनि न त भनेको समयमा मल पाउन सकें न उत्पादित वस्तुको बजार नै ।’ किसानको तहबाट गर्न नसकिने समस्याको समाधान अन्य मुलुकमा सरकारले गरिदिने गरेको प्रसंग सुनाउँदै उनले भने, ‘नेपालमा भने सरकारका तर्फबाट गर्नुपर्ने काम नभएपछि विदेश जानुको विकल्प नहुँदो रहेछ ।’ उनले बढ्दो वैदेशिक रोजगारीमा सरकार गम्भीर हुने हो भने किन युवा स्वदेशमा बस्न चाहँदैनन् भनेर अध्ययन गर्नु आवश्यक रहेको बताए ।

उज्यालो बन्यो पश्चिम म्याग्दी : दुर्गम गाउँ मुदीमा झिलिमिली बिजुली

असार २०, म्याग्दी । वर्षौदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वासिन्दाहरुको घर मात्रै होइन अनुहार पनि उज्यालो बनेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार  गरेसँगै शनिवारदेखि मुदीका प्रत्येक घरमा केन्दीय प्रशारण लाइनको विजुली बलेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रविन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २०० घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा १००/१०० केभिए क्षमताको दुई ओटा ट्रान्सफर्मर राखिएको छ । धवलागिरीको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुना हुँदै मुदी र खाम्लासम्म बिजुली पुर्‍याउन मेन लाइनमा १०० ओटा पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ ओटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना वस्तीमा १४ ओटा पोलमा एबीसी केबल मार्फत विद्युत् प्रवाह गरिएको छ ।  मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले वि.सं.०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोको लागि सोलार, मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ । धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य उर्जा मध्ये एक माध्यमबाट विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिवार मुदीको धलडाँडामा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत् विस्तार गरिएको छ । २०७६ कात्तिकमा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत् परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जामार्फत विद्युतीकण गरिएको छ । सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत् परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरीदका लागि बुलसम्म ३० लाख रुपैयाँ, वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा, मल्कबाङ र मराङमा लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । गाउँमा विजुली बलेपछि मुदीका वासिन्दाहरु हर्षित भएका छन् ।

मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

असार १३, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिवार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको हो ।  प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए । ‘मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ’, उनले भने, ‘सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ ।’ ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई ओटा ट्रान्सफर्मर राखिएको छ ।  मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । विसं २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुविधा छैन ।  उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम गर्न तथा विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीयवासी गणेश पुनले बताए ।  विसं २०७६ चैतमा वायरिङ गरिए पनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण विद्युतीकरण प्रभावित भएको थियो । प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरिको फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा चालू आर्थिक वर्षभित्रै विद्युतीकरण गर्न लागिएको बताए ।  मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ । मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत् विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ ।  यसअघि धवलागिरिको वडा नं ७ ताकम र वडा नं ६ मराङको करीब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । विसं २०७६ कात्तिकमा वडा नं २ लुलाङमा लघुजलविद्युत् र वडा नं ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।  गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु¥याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । रासस