उज्यालो बन्यो पश्चिम म्याग्दी : दुर्गम गाउँ मुदीमा झिलिमिली बिजुली

असार २०, म्याग्दी । वर्षौदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वासिन्दाहरुको घर मात्रै होइन अनुहार पनि उज्यालो बनेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार  गरेसँगै शनिवारदेखि मुदीका प्रत्येक घरमा केन्दीय प्रशारण लाइनको विजुली बलेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रविन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २०० घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा १००/१०० केभिए क्षमताको दुई ओटा ट्रान्सफर्मर राखिएको छ । धवलागिरीको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुना हुँदै मुदी र खाम्लासम्म बिजुली पुर्‍याउन मेन लाइनमा १०० ओटा पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ ओटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना वस्तीमा १४ ओटा पोलमा एबीसी केबल मार्फत विद्युत् प्रवाह गरिएको छ ।  मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले वि.सं.०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोको लागि सोलार, मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ । धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य उर्जा मध्ये एक माध्यमबाट विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिवार मुदीको धलडाँडामा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत् विस्तार गरिएको छ । २०७६ कात्तिकमा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत् परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जामार्फत विद्युतीकण गरिएको छ । सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत् परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरीदका लागि बुलसम्म ३० लाख रुपैयाँ, वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा, मल्कबाङ र मराङमा लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । गाउँमा विजुली बलेपछि मुदीका वासिन्दाहरु हर्षित भएका छन् ।