सरुवा रोग विशेषज्ञहरूले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।
जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले रासससितको कुराकानीमा बताउनुहुन्छ ।
उहाँका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।
“बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ । ” उहाँले भन्नुभयो ।