हाटबजार सञ्चालन नहुँदा कैलालीमा महँगियो तरकारी

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन विक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारीको मूल्य चर्को रूपमा बढेको हो । कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । ‘यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन,’ किसान शम्भु चौधरीले भने, ‘यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायत तरकारीको मूल्य प्रतिकेजी रू. १०० भन्दा माथि छ ।’ स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । ‘साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन्थ्यो, तरकारी विक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन,’ अर्का किसान रमेश धामीले भने, ‘मूल्य नपाइने भएपछि सम्भव भएजति गाउँमै विक्री गर्छौं, बाँकी बारीमै सड्छ । बजारका विक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन् ।’ वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । ‘काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायत तरकारीले बजार नपाएर बारीमै नष्ट गर्‍यौं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ,’ उनले भने । जिल्लामा यो सिजनमा तरकारी मात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्को सिजनमा स्थानीयस्तरमा तरकारी उत्पादन कम भएर अन्य जिल्लाबाट आउने हुँदा मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए । अन्य मौसममा सबै किसानले तरकारी उत्पादन गर्ने गरे तापनि वर्षात्मा व्यावसायिक किसानले मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ । जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आउने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए । रासस