विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाइका साथै विद्यार्थीको रोजाइ अनुसारको सिपमूलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीलाई कपाल काट्ने सिप सिकाएको हो । एक महिनासम्म सञ्चालन भएको तालिमबाट विद्यार्थी राम्रोसँग कपाल काट्न सक्ने भएका छन् । सुरुवातमा कैँची समाउन र चलाउनसमेत कठिन मान्ने विद्यार्थी बिस्तारै कपाल काट्न पोख्त भइसकेको तालिमका प्रशिक्षक अभिषेक श्रेष्ठले बताउनुभयो ।