नेपालको राजनीति विश्वमै सबैभन्दा गएगुज्रेको छ भन्दा हुन्छ । मुलुकको अर्थतन्त्र चौपट छ । व्यवसायीहरू दिनहुँजसो विरोधमा छन् । उद्योग व्यवसाय निकै सुस्त छ । विकास निर्माणका काम कत्ति पनि अघि बढेको छैन । सरकारले प्रवाह गर्ने सार्वजनिक सेवा प्रवाह निकै खस्केको छ । एकजना भुक्तभोगीले सरकारी कार्यालयभन्दा त नर्कै उत्तम भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, यसलाई सुधार्न कुनै पनि दललाई चासो छैन । दलहरू मुलुकका समस्यामा कहिल्यै सँगै बसेर छलफल गरेको थाहा छैन । अलगअलग मुद्दा भए पनि मुलुक र जनताका लागि साझा धारणा बनाएर अघि बढौं भन्ने अभिव्यक्ति कुनै पनि दलका नेताबाट आउँदैन । तर, अहिले राष्ट्रपतिको निर्वाचनका लागि दलहरू रातारात बैठक बसिरहेका छन् । सारा काम छाडेर त्यसैका बारेमा दिनहुँ एकअर्का दलसँग बैठक बसेको बस्यै छन् । मानौं मुलुक नै ठप्प हुन लागेको छ जस्तो गरिरहेका छन् । कसले कसलाई खसाल्ने र कसले कसलाई नमीठोसँग गाली गर्ने भन्नेमा नै प्रमुख नेताबीच प्रतिस्पर्धाजस्तो देखिन्छ । मुलुकको राजनीति एक अर्कालाई घोचपेचमा घुमिरहेको छ । जनता यिनको आनीबानीबाट वाक्कदिक्क भएका छन् । स्थानीय र संसद्को निर्वाचनमा जनताले यो अभिमत व्यक्त गरिसकेका छन् । तर, दलहरू सच्चिन तयार भएको देखिँदैन । के नेपाल र नेपालीको नियति सधैं यस्तै घामड नेता भोगिरहनुपर्ने हो त ?
सौरभ महर्जन
नयाँबजार, काठमाडौं ।