काठमाडौं । उपत्यकाभित्र पहिलो पटक धितोपत्र दलाल व्यवसायी (Stok Broker) को शाखा कार्यालय स्थापना भएको छ । ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज् प्रा.लिले पहिलो पटक उपत्यकामा शाखा विस्तार गरेको हो ।
Vision Securities ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति लिई मंगलवार ललितपुर महानगरपालिका वार्ड नं. २०, कुमारीपाटीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाकी उप मेयर मञ्जली शाक्य बज्राचार्यले उक्त ब्रोकर शाखाको उद्घाटन गरेकी हुन् ।
आर्थिक मन्दी, तरलताको अभाव लगाएतका कारणबाट पछिल्लो समय धितोपत्र बजारमा समेत असर परेकाले यो अवस्थामा कम्पनीहरुको वित्तीय विवरण राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्न उपमेयर बज्राचार्यले आग्रह गरेकी छिन् ।
शाखा उद्घाटन कार्यक्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले शेयर बजारमा उतार चढाव भैरहने हुनाले अहिलेको अवस्थामा केही समय आफ्नो लगानी सुरक्षित राख्न सके यसबाट राम्रो प्रतिफल पाउन सक्ने बताएका छन् ।
लगानीकर्ताहरुको धितोपत्र कारोबार सम्बन्धी तथ्याङ्क सुरक्षित गर्न सीडीएससीले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका बाहिर हेटौंडामा गरी तीन स्थानमा Data center राखिएको जानकारी दिए ।
धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले गत फागुन ४ गतेदेखि 'धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९' जारी गरी लागू गरे पश्चात निश्चित मापदण्ड पूरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको थियो ।
भिजन सेक्यूरिटिजको उपत्यका बाहिर सबै भन्दा धेरै ९ ओटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । धितोपत्र कारोबारका लागि लगानीकर्तालाई सहज सेवा प्रदान गर्नका लागि उपत्यका भित्रै शाखा सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।