सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधसम्बन्धी निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार निषेध सम्बन्धि निर्णयको अधिकार सीडीओहरुलाई दिने निर्णय गरेको हो ।यस्तै, आजकै बैठकले जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतका कार्य गर्न पनि रोक लगाएको छ । विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा अधिकतम २५ जना मात्रै जम्मा हुन पाउने गरी सिमा तोकिएको एक मन्त्रीले जानकारी दिए । पार्टी प्यालेस र ठूला होटलमा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम गर्दा क्षमताको एकतिहाई मात्रै मानिसको उपस्थित गराउन पाइने छ । रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सिनेमा हलसहित डान्सबार, दोहोरी साँझ लगायत रात्रिकालीन व्यवसाय पहिलो चरणमा माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एक पटकमा क्षमताको एक तिहाईलाई मात्र प्रवेश गराउन पनि निर्देशन दिएको छ । माघ १५ सम्म स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।