चितवन । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यीमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको बताइएको छ ।
कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका छन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उनीहरूमध्ये एक महिला बन्दी हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो संख्यामा लागू औषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागू औषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उनले बताए ।
लागू औषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा छन् । उनीहरू २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ महिला गरी १०२ जना छन् । गैँडाको खाग विक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ कैदी रहेको कार्यालयले बताएको छ ।
डाँका, ज्यान मार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव बेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठचोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ति शुद्धीकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।
आचार्यका अनुसार उनीहरूसँगै दुईजना आश्रित नाबालिग रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनले बताए । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो । यस कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा ६९० जना र २५ जना कैदीबन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् । रासस