हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् । दशै, तिहार र छठपछि त यस उद्यानमा भारतीय र आन्तरिक पर्यटकको भीड लाग्ने स्मारक व्यवस्थापक आरसी न्यौपाने बताउनुहन्छ । उहाँका अनुसार वनभोज, विवाह, व्रतबन्ध, गोष्ठी, अधिवेशन जस्ता कार्यक्रमले स्मारकलाई व्यस्त राख्ने गर्छ ।
अध्ययन भ्रमण तथा घुमघामका लागि पनि यो स्मारक एक आकर्षण बनेको छ । त्यसैले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । यहाँ वार्षिक पाँचदेखि छ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकीय याममा भने यहाँ दैनिक पाँचदेखि सात हजार मानिस आउने गर्छन् । शहीदहरुको स्मृतिमा देशभर निर्माण भएका स्थलमध्ये सबैभन्दा ठूलोस्थलको रुपमा रहेको शहीद स्मारक देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।
निजी क्षेत्रबाट निर्माण भएर पनि देशमै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको शहीद स्मारक उद्यान, हेटौँडामा अहिले दैनिक औसत दुई हजार भन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्मारक कार्यालयले जनाएको छ । पर्यटकलाई आकर्षित गर्न उद्यान क्षेत्रमा बालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, बगैचा, धरहरा पार्क, मैत्रीपार्कलगायतका संरचना बनाइएको छ ।