म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वार गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटल निर्माण गरिएको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा २५ करोड रुपैयाँ लगानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोडको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको होटल नेचुरल स्प्रिङ प्रालि निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउन्ड अन्नपूर्णको पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको कोठा रहेको हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण सकिएको छ ।
करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटल आगामी भदौदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकल मार्टसमेत सञ्चालनमा आउनेछन् । होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । २२ करोड लागत अनुमान गरिए पनि कोरोना महामारीको कारण निर्माण सामग्री अभाव र सामान ढुवानी असुविधाले लागत बढ्ने देखिएको हमालले बताए ।
‘यो होटल क्षमताको हिसाबले धवलागिरि क्षेत्रकै ठूलो हुनेछ । स्टार होटलका सुविधा उपलब्ध गराउँछौं । सुविधायुक्त होटलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउने अपेक्षा छ’, उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आएपछि यो सडक खण्ड हुँदै आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पुर्याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए ।
‘यहाँको प्राकृतिक तातोपानी कुण्ड पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर, सिजनमा अहिले सञ्चालनमा रहेका होटलले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन । त्यसैले ठूलो क्षमतामा नयाँ होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ तुलाचनले भने ।
तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४ सय जनासम्म पर्यटक बस्न सक्ने क्षमताका होटल छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यो होटलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाउने स्थानीयको भनाइ छ ।
७ करोड लगानीमा गलेश्वरमा बन्यो होटल ताज महल
आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार म्याग्दीमा करोडौंको लगानीमा स्तरीय होटल सञ्चालन हुने क्रम बढ्दै गएको छ । म्याग्दीको गलेश्वरमा ७ करोड रुपैयाँ लगानी गरी २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले पर्यटक लक्षित स्तरीय होटल ‘ताज महल’ सञ्चालन गरेका छन् ।
बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए ।
४० वर्षीय श्रेष्ठले मिहिनेतको कमाइ र सीपलाई होटल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब ७ करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटल स्थापना गरिएको उनको भनाइ छ । सुविधासम्पन्न होटलमा १०० जना पाहुना बस्न सक्छन् । सुविधाअनुसार १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्ने ३६ कोठा छन् । चार वटा कोठामा बाथटप, सबै कोठामा तातोपानी, स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितका सेवा रहेको सञ्चालक श्रेष्ठले बताए ।
म्याग्दी, मुस्ताङ आउने पर्यटकलाई होटल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्था हटाउन कोरोना महामारीकै समय ठूलो लगानीमा होटल निर्माण गरेको उनको भनाइ छ । श्रेष्ठ ०५३ सालमा कामको खोजीमा म्याग्दी हुँदै मुस्ताङ पुगेका थिए । ‘मुस्ताङको कालापानी होटलमा साढे ५ वर्ष र होटल यतीमा ९ वर्ष काम गरें’, श्रेष्ठले भने, ‘गलेश्वरमा रिभरसाइड होटल भाडामा लिएर चलाएँ । त्यसपछि आफ्नै लगानीमा मदरल्यान्ड होटल ५ वर्ष चलाएपछि सुविधा सम्पन्न नयाँ होटल सञ्चालनमा ल्याइएको हो’, उनले भने । पछिल्लो समय म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक केन्द्रित पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको व्यक्तिगत लगानी बढेको छ ।
पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका एकनारायण पौडेल विगत २२ वर्षदेखि तरकारी उत्पादन गर्दै आएका छन् । उनले ४ वर्षदेखि भने तरकारीसँगै बीउको उत्पादन पनि गर्न थालेका छन् । बीउको राम्रो बजार भएपछि उनले तरकारीसँगै बीउ उत्पादनमा लागेका हुन् ।
पौडेलको सिको गर्दै यहाँका २० परिवारले अहिले बीउको उत्पादन गर्न थालेका छन् । किसानहरू भक्तपुरे लोकल काँक्रो, रायो, मुला, टमाटर, खुर्सानी, काउली लगायत तरकारीको बीउ उत्पादन गर्न सक्रिय छन् । गाउँमा बनाइएका तीनओटा कृषि समूहमा आबद्ध कृषकले टमाटर र काँक्रोको बीउ काठमाडौंसम्म निकासी गर्दै आएको किसान पौडेलले जानकारी दिए । ‘वर्षभरि खाने अन्न भएकाले यो खेतमा त करैले धान लगाएको हो । अब धान काट्नासाथ यो फाँटैभरि हरिया तरकारी र बीउका लागि राखिएका तरकारी हुन्छन्,’ पौडेलले भने, ‘बीउबिजन बेचबिखनबाट लाखौंको आम्दानी हुन्छ ।’
पहिले पानीको अभावमा टारी बनेको यो खेतको मूल्य अहिले बजारको घडेरीको भन्दा पनि महँगो छ ।’ किसानले वर्षभरि उपभोग गर्ने भएकाले खेतमा धान त लगाउँछन् । तर धानको तुलनामा बढी फाइदा बीउ उत्पादनमा हुने गरेको स्थानीय झलकनाथ पौडेलले बताए । उनले वर्षमा ६० क्विन्टल टमाटर नै बेच्छन् । एउटै टमाटरको बोटमा १० किलोसम्म फल्ने र आफूले फरक–फरक जातका टमाटर फरक फरक ठाउँमा लगाएकाले सधैं उत्पादन दिन सकेको उनले बताए । किसानहरूका अनुसार गतवर्ष मात्रै टमाटरको ३० क्विन्टल र काँक्रोको ६० क्विन्टल बीउ विभिन्न ठाउँमा निकासी भएको थियो । गतवर्ष देशैभर उत्पादन राम्रो भएकाले बीउमा प्रतिस्पर्धा हुँदा कम आम्दानी भए पनि यस वर्ष धेरै वर्षाले बीउको मूल्य बढ्ने उनीहरूको अपेक्षा छ ।
यस वर्ष टमाटरको बीउको मूल्य प्रतिकिलो ३ हजार र काँक्राको बीउको २ हजार रुपैयाँ हुने खबरले कृषकहरू उत्साहित छन् । यस क्षेत्रमा केही न केही परिमाणमा बीउ उत्पादन नगर्ने घर नभएको स्थानीय इन्दिरा पौडेलले बताइन् । ‘हाम्रो जीविका तरकारीले नै धानेको छ,’ उनले भनिन्, ‘तरकारी खेती नगर्ने घरै छैन ।’ तरकारीबाटै गाउँमा करोडौं कमाइने भएकाले गाउँका युवा विदेश गएका छैनन् । कृषकहरूले तीन सिजनमा खेती गर्दै आएका छन् ।
जलजला कृषि उत्पादनका हिसाबले उर्वर भूमि रहेकाले व्यावसायिक कृषिका लागि गाउँपालिकाको ठाउँ र आवश्यकता अनुसार कृषकलाई सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । जलजलामा उत्पादन हुने तरकारी कुश्मा बजार, म्याग्दीको बेनीबजार, बागलुङ बजार र पोखरासम्म निर्यात हुँदै आएको छ । हालै गण्डकी प्रदेशले यो गाउँलाई मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँमा छनौट गरेर तरकारी उत्पादनको पकेट क्षेत्र बनाएको छ । किसानले सरकारको तर्फबाट ८० प्रतिशतसम्म अनुदान प्राप्त गर्नेछन् ।