माघ २६, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५ दशमलव ५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुुसार पुस मसान्तसम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत आव २०७७/७८ को पुस मसान्तसम्ममा रेमिट्यान्स ११ दशमलव १ प्रतिशतले बढेको थियो । चालू आवको शुरुवातीदेखिनै रेमिट्यान्स घट्दै आएको छ । रेमिट्यान्स घट्दै जानुको प्रमुख कारणको रूपमा विश्वभर फैलिएको कोभिड–१९ को प्रभाव र क्रिप्टो करेन्सीमा नेपालीहरुको लगानी बढ्दै जानुलाई लिइएको छ ।
रेमिट्यान्स कम भित्रिदै जाँदा विदेशी विनिमय सञ्चितिमा प्रभाव देखिएको छ । गत असार मसान्तदेखि पुुस मसान्तसम्ममा २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति घटेको छ । पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म विदेशी यो रकम १३ खर्ब ९९ अर्ब ३ करोड रहेको थियोे । ६ महिनाको अवधिमा १६ दशमलव ७ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
पुस मसान्तसम्म रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ करोड ६७ लाख ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८ दशमलव १ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव ५ प्रतिशतले घटेको थियो ।