अपांगमैत्री पर्यटनमा लगानी कम

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले देखाएको छ । अपांगमैत्री पर्यटन प्रवर्द्धनका लागि होटेल तथा सेवामा लगानी गर्न सके आर्थिक वृद्धिमा समेत सुधार हुन सक्ने आईएफसीले उल्लेख गरेको छ । ‘सबैका लागि खुला : नेपालका होटेलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँच’ सम्बन्धी सर्वेक्षणको प्रतिवेदन बुधवार सार्वजनिक गर्दै आईएफसीले पर्यटन क्षेत्रमा सुधार गर्दै अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक देखिएको निष्कर्ष निकालेको छ । आईएफसीले उक्त अध्ययनका लागि नेपालका प्रमुख शहरका ९० ओटा तारे होटेल र त्यसमा संलग्न उद्यमी÷व्यवसायीलाई समावेश गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी भएका ९५ प्रतिशत होटेल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे जानकार रहे पनि पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको धारणा राखेका छन् । उक्त सर्वेक्षणअनुसार हाल सञ्चालनमा रहेका अधिकांश होटेलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट र भिरालो र्‍याम्प मात्रै रहेको, १७ प्रतिशत होटेलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको पाइएको छ । यसैगरी बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपि वा संकेत चिह्नको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटेलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटेलमा अपांग अतिथिका लागि अतिरिक्त ह्वीलचेयरको व्यवस्था रहेको देखाएको छ । नेपालका अधिकांश होटेलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवासुविधासमेत नहुने गरेको पाइएको छ । पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको छ । आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरूमा अपांग, अशक्त वा अरू सबै उमेरसमूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक महत्त्व पनि राख्नेछ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा यो प्रतिवेदन तयार गरेको हो । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले वर्षेनि विश्वभरबाट करीब २००० अपांग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेको बताए । सुलभ पर्यटनका सुविधा र अपांगमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १० हजारसम्म पुग्न सक्ने उनको दाबी छ ।

सम्बन्धित सामग्री

अपांगमैत्री पर्यटन

कोरोनाले थलिएको पर्यटन क्षेत्र कहिलेदेखि चलायमान हुन्छ र आगामी दिनमा यसले कस्तो रूप र आयाम लिन्छ भन्ने अन्योल कायमै रहेको अवस्थामा पर्यटनमा नयाँ सम्भावनाको खोजीमा अपरिहार्य बनेको छ । कोरोना अघिका वर्षहरूमा पर्यटक आगमन बढे पनि यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिएको योगदान उल्लेख्य बढ्न सकेको थिएन । गुणस्तरीय पर्यटकको संख्या कम भएकाले कसरी पर्यटकको खर्च बढाउने भन्नेमा सरोकारवालाहरूले चासो दिएका थिए । यही सन्दर्भमा नेपालमा अपांगमैत्री पर्यटनको कमी भएको र यसबाट ठूलो लाभ लिन सकिने निष्कर्ष निकालिएको छ जसले पर्यटनमा थप लगानी गरेर पहिचानयुक्त पर्यटनका माध्यमबाट राम्रो आर्जन गर्न सहयोग गर्ने देखिन्छ । नेपालले अपांगमैत्री पर्यटनमा महत्त्व नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् । नेपालको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधताजस्ता कुराले नेपालको पर्यटन विशेष रहे पनि त्यसअनुसार ब्रान्डिङ गर्न सकिएको छैन । साथै, पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार सही र पर्याप्त नहुँदा सम्भावना दोहनमा नेपाल चुकिरहेको छ । पर्यटक आगमनको वार्षिक संख्या १० लाख नाघे पनि गुणस्तरीय पर्यटकको संख्या कम हुँदा कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढ्न सकेको छैन । त्यसैले पर्यटनको विविधीकरण र नयाँ प्रडक्टका लागि विभिन्न अध्ययन र काम पनि भइआएका छन् । यसै सन्दर्भमा नेपालको पर्यटनमा अपांगमैत्री संरचना र प्रडक्ट नबनेको अध्ययनको निष्कर्ष निक्लिएको छ । अध्ययनले पर्यटनमा थप सम्भावनाको क्षेत्रलाई पनि औंल्याएको छ । अन्तरराष्ट्रिय वित्त निगमले गराएको एक अध्ययनले अपांगमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्न सके विश्वव्यापीरूपमा बढ्दो पहुँचयोग्य पर्यटन प्रवर्दधन हुने र त्यसले आर्थिक वृद्धिदर उकास्नमा सक्ने देखाएको छ । तर, नेपालमा सञ्चालनमा रहेका अधिकांश होटल अपांगतामैत्री पाइँदैनन् । अपांगता भएका व्यक्तिको पहुँचयोग्य हुने गरी भौतिक संरचना र सेवाको व्यवस्था गरिएको छैन । अध्ययनमा सहभागी १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाका लागि पहुँचयोग्य रहने गरी संकेत चिह्न प्रयोग गरेको पाइयो । ९ प्रतिशत होटेलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका रहेका र ३३ प्रतिशत होटेलमा ह्विलचेयरको व्यवस्था रहेको छ । अपांगमैत्री सुविधा नहुँदा अपायक ठाउँमा यस्ता पर्यटक पुग्न नसकेको पाइन्छ । पूर्वाधार र सेवाका लागि केही थप लगानी गरे नेपालले विशेष खाले पर्यटनका लागि महत्त्व पाउने देखिन्छ र कोरोनाका कारण थलिएको पर्यटनलाई गति दिन यसतर्फ ध्यान जानुपर्ने देखिन्छ । नेपाल फरक खालको गन्तव्यका रूपमा चिनिएको पनि छ । कोरोना अगाडि नेपालको पर्यटन एलजीबीटीहरू (समलिंगी, बहुलिंगी लगायत) का लागि बढी उपयुक्त गन्तव्य भनेर ख्याति कमाइसकेको थियो । यसले नेपालको पर्यटनमा भरथेग गरेको पनि हो । यसैगरी अपांगमैत्री पर्यटनले पनि नेपालको पर्यटन विशेष गन्तव्य बन्न सक्छ । सक्रिय जीवनबाट अवकाश पाएका, शारीरिक रूपमा अपांग भएका, होचापुड्कालगायत फरक क्षमता भएका व्यक्तिहरूले पहुँचयोग्य पर्यटनमा अन्यको तुलनामा बढी खर्च गर्ने गरेको बताइन्छ । त्यसैले यस्तो समूहलाई लक्षित गरी पर्यटन सेवा उपलब्ध गराउन सके थलिएको पर्यटनलाई उकास्न मद्दत मिल्न सक्छ । तर, नेपालले अपांगमैत्री पर्यटनमा महŒव नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् । नेपालको पर्यटनमा विविधीकरणको खोजी भइरहेको छ । एलजीबीटीको पहिचान कायम राख्दै कोरोनापछि पर्यटन उकास्न अन्य क्षेत्र पनि स्थापित गर्नुपर्छ । तीमध्ये अपांगमैत्री पर्यटन पनि एक हो । पर्यटनका नयाँ भौतिक संरचनाहरू पर्यटनमैत्री बनेका पनि छन् । तर, पुराना संरचनामा नै सञ्चालित होटेल तथा अन्य सेवासम्बद्ध क्षेत्र पर्यटनमैत्री रहेको पाइँदैन । नेपालमा यस्तो विकास भएको छैन तर जरुरी रहेको देखिन्छ । पैसा कमाएका मानिसहरू नेपालमा आउन चाहन्छन् । तर, अपांगहरूलाई असजिलो भएको सन्देश गए अन्यत्र जान्छन् । देशभित्रै पनि अपांगता भएका मानिसहरूले देशभित्र पर्यटनमा जान नपाउने अवस्था राम्रो होइन । त्यसैले अपांगतामैत्री पर्यटनले कोरोनापछिको पर्यटनलाई टेवा दिन्छ ।

अपांगमैत्री पर्यटनमा लगानी कम

काठमाडौं, भदौ ११। नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले देखाएको छ । अपांगमैत्री पर्यटन प्रवर्द्धनका लागि होटेल तथा सेवामा लगानी गर्न सके आर्थिक वृद्धिमा समेत सुधार हुन सक्ने आईएफसीले […]