कोरोनाले थलिएको पर्यटन क्षेत्र कहिलेदेखि चलायमान हुन्छ र आगामी दिनमा यसले कस्तो रूप र आयाम लिन्छ भन्ने अन्योल कायमै रहेको अवस्थामा पर्यटनमा नयाँ सम्भावनाको खोजीमा अपरिहार्य बनेको छ । कोरोना अघिका वर्षहरूमा पर्यटक आगमन बढे पनि यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिएको योगदान उल्लेख्य बढ्न सकेको थिएन । गुणस्तरीय पर्यटकको संख्या कम भएकाले कसरी पर्यटकको खर्च बढाउने भन्नेमा सरोकारवालाहरूले चासो दिएका थिए । यही सन्दर्भमा नेपालमा अपांगमैत्री पर्यटनको कमी भएको र यसबाट ठूलो लाभ लिन सकिने निष्कर्ष निकालिएको छ जसले पर्यटनमा थप लगानी गरेर पहिचानयुक्त पर्यटनका माध्यमबाट राम्रो आर्जन गर्न सहयोग गर्ने देखिन्छ ।
नेपालले अपांगमैत्री पर्यटनमा महत्त्व नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् ।
नेपालको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधताजस्ता कुराले नेपालको पर्यटन विशेष रहे पनि त्यसअनुसार ब्रान्डिङ गर्न सकिएको छैन । साथै, पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार सही र पर्याप्त नहुँदा सम्भावना दोहनमा नेपाल चुकिरहेको छ । पर्यटक आगमनको वार्षिक संख्या १० लाख नाघे पनि गुणस्तरीय पर्यटकको संख्या कम हुँदा कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढ्न सकेको छैन । त्यसैले पर्यटनको विविधीकरण र नयाँ प्रडक्टका लागि विभिन्न अध्ययन र काम पनि भइआएका छन् । यसै सन्दर्भमा नेपालको पर्यटनमा अपांगमैत्री संरचना र प्रडक्ट नबनेको अध्ययनको निष्कर्ष निक्लिएको छ । अध्ययनले पर्यटनमा थप सम्भावनाको क्षेत्रलाई पनि औंल्याएको छ ।
अन्तरराष्ट्रिय वित्त निगमले गराएको एक अध्ययनले अपांगमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्न सके विश्वव्यापीरूपमा बढ्दो पहुँचयोग्य पर्यटन प्रवर्दधन हुने र त्यसले आर्थिक वृद्धिदर उकास्नमा सक्ने देखाएको छ । तर, नेपालमा सञ्चालनमा रहेका अधिकांश होटल अपांगतामैत्री पाइँदैनन् । अपांगता भएका व्यक्तिको पहुँचयोग्य हुने गरी भौतिक संरचना र सेवाको व्यवस्था गरिएको छैन । अध्ययनमा सहभागी १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाका लागि पहुँचयोग्य रहने गरी संकेत चिह्न प्रयोग गरेको पाइयो । ९ प्रतिशत होटेलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका रहेका र ३३ प्रतिशत होटेलमा ह्विलचेयरको व्यवस्था रहेको छ । अपांगमैत्री सुविधा नहुँदा अपायक ठाउँमा यस्ता पर्यटक पुग्न नसकेको पाइन्छ । पूर्वाधार र सेवाका लागि केही थप लगानी गरे नेपालले विशेष खाले पर्यटनका लागि महत्त्व पाउने देखिन्छ र कोरोनाका कारण थलिएको पर्यटनलाई गति दिन यसतर्फ ध्यान जानुपर्ने देखिन्छ ।
नेपाल फरक खालको गन्तव्यका रूपमा चिनिएको पनि छ । कोरोना अगाडि नेपालको पर्यटन एलजीबीटीहरू (समलिंगी, बहुलिंगी लगायत) का लागि बढी उपयुक्त गन्तव्य भनेर ख्याति कमाइसकेको थियो । यसले नेपालको पर्यटनमा भरथेग गरेको पनि हो । यसैगरी अपांगमैत्री पर्यटनले पनि नेपालको पर्यटन विशेष गन्तव्य बन्न सक्छ । सक्रिय जीवनबाट अवकाश पाएका, शारीरिक रूपमा अपांग भएका, होचापुड्कालगायत फरक क्षमता भएका व्यक्तिहरूले पहुँचयोग्य पर्यटनमा अन्यको तुलनामा बढी खर्च गर्ने गरेको बताइन्छ । त्यसैले यस्तो समूहलाई लक्षित गरी पर्यटन सेवा उपलब्ध गराउन सके थलिएको पर्यटनलाई उकास्न मद्दत मिल्न सक्छ । तर, नेपालले अपांगमैत्री पर्यटनमा महŒव नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् ।
नेपालको पर्यटनमा विविधीकरणको खोजी भइरहेको छ । एलजीबीटीको पहिचान कायम राख्दै कोरोनापछि पर्यटन उकास्न अन्य क्षेत्र पनि स्थापित गर्नुपर्छ । तीमध्ये अपांगमैत्री पर्यटन पनि एक हो । पर्यटनका नयाँ भौतिक संरचनाहरू पर्यटनमैत्री बनेका पनि छन् । तर, पुराना संरचनामा नै सञ्चालित होटेल तथा अन्य सेवासम्बद्ध क्षेत्र पर्यटनमैत्री रहेको पाइँदैन । नेपालमा यस्तो विकास भएको छैन तर जरुरी रहेको देखिन्छ । पैसा कमाएका मानिसहरू नेपालमा आउन चाहन्छन् । तर, अपांगहरूलाई असजिलो भएको सन्देश गए अन्यत्र जान्छन् । देशभित्रै पनि अपांगता भएका मानिसहरूले देशभित्र पर्यटनमा जान नपाउने अवस्था राम्रो होइन । त्यसैले अपांगतामैत्री पर्यटनले कोरोनापछिको पर्यटनलाई टेवा दिन्छ ।